काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले रसुवा बाढीको उद्धारमा सरकारी संयन्त्र र जलविद्युत आयोजना सञ्चालकबीच समन्वय नहुँदा धेरैको ज्यान जोगाउन नसकिएको बताएकी छन् ।
अर्थ समितिको छलफलमा उनले विपद्को सुरुवाती चरणमै जलविद्युत आयोजनाका प्राविधिक जनशक्ति र उपकरण परिचालन गर्न सके सुरुङमा फसेकाहरूको ज्यान जोगाउन सकिने बताइन् ।
‘उद्धारको सुरुवाती चरणमै सरकारी संयन्त्र र ऊर्जा प्रवद्र्धकबीच जुन किसिमको समन्वय र सहकार्य हुनुपर्थ्यो, त्यो हुन सकेन । समयमै प्रभावकारी समन्वय भएको भए टनेलभित्र फसेका धेरैको ज्यान जोगाउन सकिन्थ्यो,’ उनले भनिन् ।
तीन तहका सरकारबीच समन्वय नहुँदा उद्धार तथा राहतमा समस्या देखिएको उनको भनाइ छ । बाढीपीडितलाई राखिएका होल्डिङ सेन्टर व्यवस्थित गर्न, तत्कालका लागि घरभाडा उपलब्ध गराउन र घरजग्गा गुमाएकालाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न उनले सरकारसँग माग गरिन् ।
विपद् पूर्वतयारी कमजोर रहेको भन्दै अधिकारीले जोखिमअनुसार तत्काल सूचना दिने मोबाइल अलर्ट प्रणाली लागू गर्नुपर्ने बताइन् ।