काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ मा भएको विध्वंसात्मक घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामबाट अनुसन्धान गर्नुपर्ने बताएका छन्। सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी तथा निजी संरचना केही घण्टामै ध्वस्त पारिएको भन्दै उनले घटनाको वास्तविक दोषी पहिचान गरी तथ्य सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
‘भदौ २४ को घटना रहस्यमय छ,’ दाहालले भने।
भदौ २३ मा युवाहरूले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनालाई फरक ढंगले बुझ्नुपर्ने उनको भनाइ छ। भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई ‘अपहरण र कब्जा’ गर्ने प्रवृत्ति हावी भएको उनले बताए।
घटना भएको एक वर्ष बितिसक्दा पनि अपेक्षित अनुसन्धान अघि नबढेको भन्दै दाहालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयन नभएको बताए। प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याइएको उनको आरोप छ।
दाहालले घटनाको अनुसन्धानमा सुरक्षा निकाय र राजनीतिक नेतृत्वको भूमिकासहित सबै पक्षलाई समेट्नुपर्ने बताए। वर्तमान भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै यसको अन्तर्राष्ट्रिय आयामसमेत केलाउनुपर्ने उनको भनाइ छ।
‘एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन,’ उनले भने।
दाहालले भदौ २४ को घटनाले संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि गम्भीर प्रश्न उठाएको बताए। लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान कमजोर पार्ने गरी भएको घटनाका दोषीलाई आग्रह–पूर्वाग्रहबिना कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए।
उनले अहिलेको अवस्थालाई सुगौली सन्धिपछिको नेपालको राष्ट्रिय स्वाधीनतामाथिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गरेका छन्।