काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका एक सांसदका अनुसार लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।
यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ समेत सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।