काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् । शहीद परिवार, घाइते तथा आन्दोलनका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा सुनारले भ्रष्टाचारविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने दाबी गरे । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार प्रमाणित भए कारबाही हुने उनको भनाइ छ ।
‘चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ,’ उनले भने ।
जेन–जी आन्दोलनका शहीदको बलिदानबाट देशमा नयाँ सुशासनको आधार बनेको दाबी गर्दै उनले शहीद परिवारलाई निराश नहुन आग्रह गरे । ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो,’ उनले भने ।
नयाँ राजनीतिक शक्तिको अनुभवमाथि प्रश्न उठिरहेको भन्दै सुनारले आफूहरू अनुभवका हिसाबले नयाँ भए पनि भ्रष्ट नभएको दाबी गरे । ‘हामी आला हौंला, काँचा हौंला, तर कुहिएका छैनौं आमा !’ उनले बताए ।