काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढीपहिरो र डुबानपछिको राहत तथा उद्धारमा अपेक्षित परिणाम नआए पनि सरकारलाई अहिले नै असफल घोषणा गर्नु हतारो हुने बताएका छन् ।
बुधबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले सरकारका कमजोरीमाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि सबै संयन्त्र असफल भएको निष्कर्ष निकाल्न नहुने बताए । कतिपय प्राविधिक कारणले उद्धार तथा राहतको परिणाम देखिन समय लागेको उनको भनाइ छ ।
‘राहत र उद्धारमा अपेक्षाकृत परिणाम नआएको भन्ने प्रश्न जायज हुन सक्छ, तर एकैपटक सबै चिज बिग्रिसक्यो वा सरकार असफल भयो भन्ने निष्कर्षमा पुग्नु हुँदैन,’ झाले भने ।
सरकारको नियत र इमान्दारितामाथि प्रश्न उठाउने अवस्था नरहेको दाबी गर्दै उनले विपद्को समयमा सबै राजनीतिक दल र राज्यका संयन्त्रबीच सहकार्य आवश्यक रहेको बताए । रास्वपा सभापतिले सर्वदलीय संयन्त्र, संसदीय समिति वा सक्रिय कार्यदलमार्फत अघि बढ्न प्रस्ताव गरेको र यसबारे छलफल भइरहेको उनले जानकारी दिए ।
गृहमन्त्रीको फिल्ड उपस्थितिलाई लिएर उठेका प्रश्नलाई उनले कार्यशैलीसँग जोड्दै हरेक व्यक्तिको काम गर्ने तरिका फरक हुने बताए ।