काठमाडौं। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीको विपद्मा सरकार नागरिकको जीवनरक्षाभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइप्रति प्रश्न उठाउँदै उपलब्ध सबै स्रोतसाधन तत्काल परिचालन गर्न आग्रह गरे ।
बुधबार प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले घटनापछिको ७२ घण्टा उद्धारका दृष्टिले निर्णायक हुने भए पनि निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले ढिलाइ गरेको बताए । सुरुङ उद्धारमा भएको ढिलाइलाई उनले ‘अमानवीय’ भने ।
‘यो प्राण बचाउने समय हो,’ आङ्देम्बेले भने, ‘जसको परिवार सुरुङभित्र फसेको छ, उसलाई आफन्तको प्राणको चिन्ता छ, तर सरकारका प्रतिनिधिहरू फेसबुकमा फोटो पोस्ट गर्न व्यस्त देखिए ।’
विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय नभएको भन्दै उनले राहत वितरणमा स्थानीय तहलाई नै स्रोत र अधिकार दिनुपर्ने बताए । विपद् व्यवस्थापन, राहत र पुनर्निर्माणको अनुगमन गर्न संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्न उनले सभामुखमार्फत माग गरे ।