पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विपद्को समयमा यात्रुसँग तोकिएकोभन्दा बढी भाडा नलिन व्यवसायी तथा चालकलाई आग्रह गरेका छन्। बरु मानवीय सेवाका रूपमा केही कम भाडामा सेवा दिन उनले आग्रह गरे।
पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सवमा बोल्दै सिटौलाले भारी वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध रहेकाले प्रशासन, विपद् व्यवस्थापन निकाय र मौसमविद्को सूचनाबिना जोखिम मोलेर सवारी नचलाउन आग्रह गरे।
‘तोकिएको भाडाभन्दा बढी एक रुपैयाँ कसैले नलिनुस्, बरु केही रुपैयाँ कम गरेर यो उद्धारमा लागिदिन विशेष आग्रह गर्दछु,’ उनले भने।
रसुवालगायत प्रभावित क्षेत्रमा यात्रु, चालक, सहचालक र सवारीसाधन बेपत्ता रहेको भन्दै उनले खोज तथा उद्धारलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे। महासंघका प्रदेश तथा जिल्ला तहलाई देशभरका यात्रु, चालक र सवारीसाधनको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन उनले आग्रह गरे।
विपद्को समयमा प्रभावित यात्रुको उद्धारमा यातायात क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै सिटौलाले सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए। पोखरेली ट्याक्सी सेवा प्रालिले बाढीपीडितका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकोमा उनले धन्यवाद दिए।