काठमाडौं । विपद् विज्ञ डा. गंगालाल तुलाधरले रसुवाका सुरुङमा फसेका नागरिकको उद्धारका लागि आवश्यक परे छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोग माग्न सरकारलाई सुझाव दिएका छन् ।
बाढी आएको चार दिनसम्म पनि विभिन्न सुरुङमा फसेका नागरिकको उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने अवस्थामा विदेशी सहयोग लिन हिच्किचाउन नहुने बताए । जापान, चीन र भारतलगायत सुरुङ उद्धारमा अनुभव तथा प्रविधि भएका मुलुकसँग सहयोग माग्न उनले सरकारलाई आग्रह गरे ।
‘हामीसँग प्रविधि छैन, मानव स्रोत छैन भने अप्ठ्यारो नमानीकन विदेशी मित्रहरूसँग हात फैलाउनै पर्छ,’ तुलाधरले भने ।
विपद् व्यवस्थापनमा सरकारले गरेका कतिपय काम प्रशंसनीय भए पनि मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राख्न नसक्दा त्यसको सन्देश नकारात्मक जाने उनले बताए । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
२०७२ सालको भूकम्पपछि आवश्यकताभन्दा फरक सामग्रीसमेत ठूलो मात्रामा आएको उदाहरण दिँदै तुलाधरले विपद्का बेला बाह्य सहयोगलाई आवश्यकता र क्षमताका आधारमा व्यवस्थापन गर्नुपर्ने बताए । ‘जो दिए पनि लिने’ नभई नेपाललाई आवश्यक सहयोग पहिचान गरेर सम्बन्धित मुलुकसँग समन्वय गर्नुपर्ने उनको भनाइ थियो ।
उनले उद्धार, राहत र पुनर्निर्माणका लागि आवश्यक बाह्य सहयोगलाई पनि फरक ढंगले मूल्यांकन गर्नुपर्ने बताए । बाढीबाट सडक, पुललगायत सार्वजनिक संरचनामा ठूलो क्षति पुगेकाले पुनर्निर्माणको भार नेपालले आफ्नै स्रोतबाट मात्र धान्न कठिन हुने उनको भनाइ छ ।
तुलाधरले सुरुङमा फसेकालाई जीवितै उद्धार गर्ने सम्भावना रहेकाले समय खेर फाल्न नहुनेमा जोड दिए । ‘अहिले सुरुङमा फसेका मान्छेहरूलाई जीवितै उद्धार गर्न सकिन्छ । ढिलो भयो भने उनीहरूको पनि ज्यान जान सक्छ, यसमा दुई मिनेट पनि ढिलो गर्नु हुँदैन,’ उनले भने ।
पीडित परिवारले सरकारलाई अभिभावक ठानेर आफ्ना आफन्तको उद्धारका लागि गरिरहेको आग्रहलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै उनले विपद्को प्रकृति, उपलब्ध स्रोत र उद्धारको सम्भावनाका आधारमा तत्काल रणनीति बनाउन सरकारलाई सुझाव दिए ।