काठमाडौं – अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा ३५ जनाभन्दा बढी व्यक्ति फसेको भन्दै आफन्तजनले तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
इन्जिनियर विनोद पाण्डेका परिवारले सुरुङभित्र फसेकाहरूको तत्काल खोज तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसअघि कपिलवस्तुकी सीता अधिकारी पनि आफ्ना श्रीमान्सहित केही कर्मचारी कुलेखानी तेस्रो हुँदै रसुवा–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेको हुनसक्ने भन्दै उद्धारको माग लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेकी थिइन् ।
पाण्डेका आफन्तका अनुसार सुरुङभित्र ३५ जनाभन्दा बढी व्यक्ति थुनिएको जानकारी प्राप्त भएको छ । उनीहरूले फसेकाहरूको अवस्था तत्काल यकिन गरी उद्धार कार्यलाई तीव्रता दिन माग गरेका छन् ।
आफन्तजनले स्वदेशमा उपलब्ध उपकरणबाट उद्धार सम्भव नभए विदेशबाट आवश्यक उपकरण झिकाएर भए पनि सुरुङ खोल्नुपर्ने बताएका छन् । उनीहरूले सुरुङभित्र फसेकाहरूको जीवनरक्षालाई प्राथमिकतामा राख्दै सरकारले तत्काल प्रभावकारी उद्धार अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
