काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनयता तनावग्रस्त बनेको सुनसरीको अवस्था सामान्य बनाउन सरकारले सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका वाग्लेले बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारका तर्फबाट धारणा राख्दै प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आवश्यक पहल भइरहेको जानकारी दिए।
उनले सुनसरीमा भएको दुःखद् घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्ने, सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको उपचार सुनिश्चित गर्ने विषयमा सरकार केन्द्रित रहेको बताए।
बैठकमा विभिन्न राजनीतिक दलका नेताले सरकारको भूमिकाबारे उठाएका जिज्ञासाको जवाफ दिँदै वाग्लेले शान्ति, सुरक्षा र जनविश्वास कायम गर्न सरकार निरन्तर प्रयासरत रहेको बताए। उनले सामाजिक सद्भाव र संयम कायम राख्न राजनीतिक दलहरूले देखाएको पहललाई सरकारले सकारात्मक रूपमा लिएको पनि उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले बैठकमा उठेका सुझाव तथा धारणा तत्काल प्रधानमन्त्रीसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सुनसरीको समस्या समाधानका लागि सबै राजनीतिक दल, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार दीर्घकालीन समाधानका लागि साझा समझदारी र सामूहिक प्रयास अपरिहार्य छ।