काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई तमासा छोडेर जनसरोकारका विषयमा संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा बढ्दो आत्महत्याको प्रवृत्ति र नागरिकका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए । सञ्चारगृह र राजनीतिक दलका नेताहरूको घरअगाडि गाडी तेर्स्याएर शक्ति प्रदर्शन गर्ने जस्ता गतिविधि अपरिपक्व भएको टिप्पणी पनि उनले गरे ।
‘सरकार नयाँ भएकाले काम गर्न र सिक्न १०० दिनको समय दिइएको हो । तर सुरुआती कामले नै भविष्यको दिशा देखाउँछ,’ उनले भने, ‘तमासा देखाउने होइन, जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्ने बेला हो ।’
सरकार ढाल्ने खेलमा आफूहरू नरहेको स्पष्ट पार्दै नेपालले प्रतिपक्षको भूमिका रचनात्मक हुने बताए । राष्ट्रिय हितविपरीतका काम नगर्न सरकारलाई सचेत गराउँदै उनले विदेशी स्वार्थबाट प्रभावित नहुन, छिमेकी मुलुकसँग अनावश्यक तनाव सिर्जना नगर्न तथा गरिब, सुकुम्बासी, महिला, दलित र अन्य कमजोर समुदायका समस्या सम्बोधनमा प्राथमिकता दिन आग्रह गरे ।
राज्यका कारण कुनै पनि नागरिकले थप पीडा भोग्न नपर्ने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।