काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी नियुक्ति र जिम्मेवारी बाँडफाँटमा व्यक्ति होइन, कार्यसम्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको बताएका छन् ।
आन्तरिक राजस्व विभागमा बिहीबार आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ‘कसलाई ल्याउने वा राख्ने भन्ने मेरो चासो होइन, पात्र जोसुकै होस्, मलाई नतिजा चाहिन्छ’ भन्ने स्पष्ट सन्देश रहेको बताए ।
वाग्लेले नियुक्ति, सरुवा र जिम्मेवारी निर्धारणमा कुनै पनि प्रकारको राजनीतिक दबाब वा शक्ति केन्द्रको प्रभाव स्वीकार्य नहुने स्पष्ट पारे । योग्यता र कार्यसम्पादनका आधारमा जिम्मेवारी दिइने उनको भनाइ थियो ।
विगतमा राजनीतिक पहुँच, गुट र व्यक्तिगत चिनजानका आधारमा सरुवा र नियुक्ति गर्ने अभ्यासले प्रशासन कमजोर बनेको उल्लेख गर्दै उनले त्यस्तो प्रवृत्तिको अन्त्य गरिने बताए । कसैको सिफारिस वा दबाबका आधारमा निर्णय नहुने र दबाब दिन खोज्नेले त्यसको परिणाम आफैं भोग्नुपर्ने चेतावनी पनि उनले दिए ।
देशभरका आन्तरिक राजस्व र भन्सार कार्यालयको स्थलगत अनुगमन गर्ने प्रतिबद्धता जनाउँदै वाग्लेले कर्मचारीका समस्या र सुझाव प्रत्यक्ष सुन्ने बताए । कतै अनियमितता भए प्रमाणसहित मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले प्रणाली सुधार र सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।