जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौती र वर्तमान जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी राजनीतिक शक्तिहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् ।
बुधबार जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश समितिको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा सहकार्य गरेका राजनीतिक दलहरूसँग पुनः साझा पहलका साथ अघि बढ्नुपर्ने बताए । नेपाली काँग्रेस, मधेसकेन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य वर्तमान चुनौती सामना गर्ने आधार हुने उनको भनाइ थियो ।
राष्ट्रिय स्वाधीनताको प्रश्न अहिले संवेदनशील र जोखिमपूर्ण मोडमा पुगेको उल्लेख गर्दै दाहालले त्यसको रक्षाका लागि दलहरूबीच साझा धारणा र राजनीतिक समझदारी आवश्यक रहेको बताए ।
दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव, संगठन र सम्बन्ध विस्तार अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा विभिन्न देशका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहललाई थप सशक्त बनाइने बताए ।
उनले भने, “राष्ट्रिय स्वाधीनताको प्रश्न अहिले निकै पेचिलो र जोखिमपूर्ण अवस्थामा छ । त्यसको सामना गर्न विगतमा सहकार्य गरेका राजनीतिक दलहरूसँग फेरि सहकार्य र मोर्चाबन्दी गरेर अघि बढ्नुपर्छ ।”
दाहालले मधेस प्रदेश समितिको शपथग्रहण सम्पन्न भएसँगै अब भौगोलिक प्रदेशमध्ये वागमती प्रदेशको शपथग्रहण मात्र बाँकी रहेको जानकारी दिए।