ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीलाई व्यंग्य गर्दै दुवै ‘ब्रेकविनाको दौड’ मा रहेको टिप्पणी गरेका छन् ।
बुधबार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतनामूलक ग्रीन रनपछि उनले पाँच किलोमिटरको दौड विश्रामबिना पूरा गरेको प्रसंग जोड्दै यस्तो टिप्पणी गरेका हुन् ।
यसअघि चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र गन्तव्यमा पुगेपछि मात्र रोकिने बताएका थिए । थापाले सोही अभिव्यक्तिलाई संकेत गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेकविनाको दौड’ सँग तुलना गरे ।
उनले भने, “म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो, ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ ।’ मैले पनि यसपालि यस्तै हो भनेँ ।”