काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ । कोषमार्फत घरबारविहीन बनाइएका एकल महिला र बालबालिकालाई सहयोग गरिने कांग्रेसले जनाएको छ ।
कोषको घोषणा गर्दै कांग्रेस सभापति गगनकुमार थापाले पार्टी सदस्यहरूबाट संकलन गरिएको १० लाख रुपैयाँबाट कोषको सुरुआत गरिएको जानकारी दिए । कोषको रकम आगामी दिनमा थप विस्तार गर्दै लैजाने उनले बताए ।
थापाले कोषको विस्तृत कार्यविधिसहित पार्टीका राजनीतिक अभियान र आगामी कार्यक्रमबारे बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा जानकारी दिइने बताए । सोही कार्यक्रममा हाल सञ्चालन भइरहेको ‘जरा अभियान’ को समापनसँगै नयाँ कार्यक्रम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
यसअघि स्मृति दिवसका अवसरमा ललितपुरस्थित युएन पार्कबाट पाँच किलोमिटरको ग्रीन रन आयोजना गरिएको थियो । प्रतियोगितामा झण्डै १ हजार ४ सय जनाले नाम दर्ता गराएका थिए ।
प्रतियोगितामा मुकेशबहादुर पाल १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम भए । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए। नरेन्द्रसिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौं हुँदै १० हजार र नागेश्वर अहिर छैटौं हुँदै ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
महिला प्रतिस्पर्धामा भने केही धावकले निर्धारित धावन मार्ग छाडेर दौडेपछि पुनः प्रतिस्पर्धा गराइने कांग्रेसले जनाएको छ ।
ग्रीन रनपछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्दै प्रभावकारी नीति, जनचेतना र सतर्कता आवश्यक रहेकोमा जोड दिइएको थियो ।
सो अवसरमा सभापति थापाले ग्रीन रन जलवायु परिवर्तनबारे सचेतना जगाउने अभियान मात्र नभई त्यसविरुद्धको सामूहिक संकल्प भएको बताए । जलवायु संरक्षणका लागि पार्टीले थप बृहत् कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
बीपी कोइरालाले सात दशकअघि नै जंगल, जमिनलगायत प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास र समावेशी समाजको अवधारणा अघि सारेको स्मरण गर्दै थापाले कांग्रेस अहिले पनि त्यही विचारप्रति प्रतिबद्ध रहेको बताए ।
स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको कांग्रेसले जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट बिरुवा वितरण कार्यक्रम निरन्तर सञ्चालन गरिने पनि कांग्रेसले जनाएको छ ।