काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भए एमाले नयाँ सत्ता समीकरणमा नजाने र प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा तामाङले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरता नेपाली काँग्रेसभित्रको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गरे । उनले काँग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिनु रहेको बताए ।
तामाङले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने स्पष्ट पारे । वर्तमान सत्ता समीकरण कायम रहन नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने उनको भनाइ थियो ।
“प्रदेश सरकामा अहिले समस्याहरु देखापरेको छ, त्यो नेपाली काँग्रेसको आन्तरिक समस्याको कारणले सिर्जना भएको हो । यो खटपट अब धेरै नजाला, यसको छिट्टै समाधान होला । काँग्रेसभित्र केही आन्तरिक सहमति होलान्, सहमति हुँदैन भने हामी अहिले तुरुन्तै अरु कसैसँग हात मिलाउने भन्दापनि वर्तमान सरकारलाई जोगाउने ठाउँमा उभिन्छौँ, अहिलेको सरकार जोगिएनन् भने हामी सरकारको निरन्तरतामा रहँदैनौ,” तामाङले भने।
तामाङले वर्तमान सत्ता समीकरण अन्त्य भए प्रदेशमा एमालेबाहेकका दलहरूको सरकार बन्न सक्ने पनि बताए ।
यता कर्णाली र सुदूरपश्चिममा विकसित राजनीतिक घटनाक्रमसँगै काँग्रेस–एमाले सत्ता सहकार्य अन्योलमा परेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा काँग्रेसका सांसदहरूले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।