काठमाडौं । नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४ औं स्मृति दिवस साउन ६ र ७ गते ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ । पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम र पार्टीको नयाँ अभियान घोषणा गरिने जानकारी दिए ।
उनका अनुसार साउन ६ गते ललितपुरको यूएन पार्कबाट ‘ग्रीन रन’ आयोजना गरिनेछ । सोही दिन ‘जलवायु परिवर्तन र नेपाल : प्रकृति, लोकतन्त्र र भावी पुस्ता’ विषयमा विज्ञहरूसँग संवाद हुनेछ भने २० भन्दा बढी कलाकारको सहभागितामा जलवायु संकट झल्काउने ‘लाइभ पेन्टिङ’ कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा सहभागीलाई बिरुवा वितरण गरिने र सहभागीको संख्याका आधारमा ‘मानवीय सहयोग कोष’ स्थापना गरी विस्थापित सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा खर्च गरिने कांग्रेसले जनाएको छ ।
स्मृति दिवसको दोस्रो दिन साउन ७ गते राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना हुनेछ । सोही कार्यक्रममा सभापति गगन थापाले ‘जरा अभियान’पछि पार्टीको नयाँ अभियान घोषणा गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।