काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका आधारभूत समस्या र राष्ट्रियताका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आधुनिक प्रविधिको उपयोगमार्फत पार्टीको लोकप्रियता बढाउनुपर्ने बताएका छन् ।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले जनपक्षीय अडान र देशभक्तिपूर्ण अभियानबाट मात्रै जनविश्वास बलियो बन्ने उल्लेख गर्दै जनताका समस्या बुझेर समाधानका लागि सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे ।
पार्टी सूचना प्रविधिको प्रतिस्पर्धामा केही पछाडि परेको स्वीकार गर्दै ओलीले डिजिटल सञ्चार र ‘आईटी वार’ मा देखिएका कमजोरी सुधार्नुपर्ने बताए। उनले विज्ञको अनुभव, पुस्तक, सञ्चार माध्यम तथा कृत्रिम बुद्धिमत्ता (एआई) र च्याटजीपीटीजस्ता आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
उपलब्ध स्रोत र सञ्चार माध्यमको प्रभावकारी प्रयोगमार्फत पार्टीका विचार र कार्यक्रम आमजनतासम्म पुर्याउनुपर्नेमा पनि उनले जोड दिए ।