काठमाडौँ । प्रतिनिधि सभाका पूर्वसचिव एवं स्थानीय सरकार विज्ञ हर्कराज राईले संसदीय भूमिका प्रभावकारी बनाउन सांसदहरूलाई संस्थागत सहयोग र दक्ष स्वकीय सचिवको आवश्यकता रहेको बताएका छन् ।
नेकपा (एमाले) को केन्द्रीय संसदीय विभागद्वारा आयोजित कार्यक्रममा राईले सांसदहरूको कार्यबोझ अत्यधिक भए पनि अध्ययन, अनुसन्धान र नीतिगत सहयोग पर्याप्त नहुँदा विधेयक र नीतिमाथिको बहस अपेक्षाअनुसार तथ्यपरक र प्रभावकारी बन्न नसकेको बताए ।
उनले सरकारलाई जवाफदेही बनाउने प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव, संकल्प प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्तावजस्ता संसदीय औजारको पर्याप्त प्रयोग हुन नसकेको उल्लेख गर्दै तिनको प्रभावकारी उपयोगमा जोड दिए । साथै, संसदीय समितिहरूले विधेयक छलफल र स्थलगत अनुगमनमा मात्र सीमित नभई नीति तथा कार्यसम्पादनको समीक्षा र निगरानीमा पनि सक्रिय हुनुपर्ने बताए ।
राईले सांसदहरूलाई पार्टीका विभागबाट अनुसन्धान, विश्लेषण र नीतिगत सुझावमार्फत संस्थागत सहयोग उपलब्ध गराउनुपर्ने बताए । संसदका गतिविधि आम नागरिक र युवासम्म पुर्याउन सूचना प्रविधिको प्रयोग गर्दै सांसदहरूको ‘रिपोर्ट कार्ड’ वा ‘ड्यासबोर्ड’ प्रणाली विकास गर्नुपर्ने उनको सुझाव थियो ।
साथै, सांसदका स्वकीय सचिवलाई जनसम्पर्क, सरकारी निकायसँग समन्वय, कानुनी अध्ययन र नीतिगत सहयोग गर्न सक्ने गरी दक्ष बनाउनु आवश्यक रहेको उनले बताए ।