काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी, भूगोल र पुस्तालाई जोड्ने सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताए ।
पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै उनले विगतमा काँग्रेसले सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिका रूपमा काम गरेझैँ अब सबै पुस्तालाई जोड्ने सामर्थ्य पनि राख्नुपर्ने बताए ।
थापाले नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको विचार, अपेक्षा र दृष्टिकोण सुन्ने धैर्यता पनि आवश्यक रहेको बताए । नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा सीमित राख्न नहुने उनको भनाइ थियो ।
पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै थापाले ६०–६५ वर्षभन्दा माथिका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उपयुक्त नभएको बताए । यस्ता विभाजनकारी सोचभन्दा माथि उठेर सबै पुस्ताबीच सहकार्य र विश्वासको वातावरण बनाउन काँग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै थापाले काँग्रेसले सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबी गरे ।
उनले भने, “नेपाली काँग्रेसले सबै जाति, भाषा, समुदाय र पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ । नयाँ पुस्तालाई केवल प्रतीकात्मक रूपमा होइन, अर्थपूर्ण रूपमा पार्टीमा सहभागी गराउनुपर्छ । बदलिँदो समयसँगै उनीहरूको सोच र राजनीतिक अपेक्षा पनि फरक छन्, त्यसैले उनीहरूको दृष्टिकोणलाई सम्मानपूर्वक सुन्नुपर्छ ।”
थापाले अब काँग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।