बागमती । मनसुनका कारण हुनसक्ने सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार यात्रु तथा सवारीसाधनका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर तथा आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख छ। वर्षाका कारण बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावजस्ता विपद्को जोखिम बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।
सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले मकवानपुर–काठमाडौँ, मकवानपुर–चितवन, मकवानपुर–ललितपुर र मकवानपुर–सिन्धुली सडक खण्ड प्रयोग गर्ने यात्रु, चालक, यातायात व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरी सूचना जारी गरिएको हो।
प्रशासनका अनुसार जोखिमको अवस्थालाई मध्यनजर गर्दै शनिबार साँझदेखि आइतबार बिहान ५ बजेसम्म हेटौँडा हुँदै देउराली–काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोक लगाइनेछ। त्यस्तै, कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई शनिबार साँझ ६ बजेदेखि पूर्वसूचनाअनुसार चौघडामै रोक्ने व्यवस्था गरिएको छ।
प्रशासनले निरन्तर वर्षा भइरहेका बेला तथा रातिको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ। पहिरो, बाढी, सडक कटान र नदी–खोल्साको बहाव बढ्न सक्ने जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ।
यस्तै, नदी, खोला तथा खोल्सामा पौडी खेल्ने, नुहाउने वा किनार क्षेत्रमा अनावश्यक रूपमा जाने कार्य नगर्न र बालबालिकालाई पनि त्यस्ता जोखिमयुक्त स्थानमा जान नदिन आग्रह गरिएको छ।
सडक अवरुद्ध भएको वा जोखिमपूर्ण अवस्था देखिएमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ। पानी बगिरहेको सडक, पुल वा डुबान क्षेत्र पार गर्ने प्रयास नगर्न पनि यात्रु तथा चालकलाई सचेत गराइएको छ।
लामो दूरीको यात्रा सुरु गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न आग्रह गर्दै प्रशासनले आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, ट्राफिक प्रहरीको १०३, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (विपद्)को १२३४ तथा एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रशासनले अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न तथा जिल्ला प्रशासन कार्यालय मकवानपुर र सम्बन्धित सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनामात्र पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।