काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले साह नेतृत्वलाई ‘अकार्यकुशल’ को संज्ञा दिँदै साह ‘नेपाली हिटलर’ शैलीमा प्रस्तुत भएको टिप्पणी गरे । सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा गर्न नसकेको उनको दाबी थियो ।
साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको, दरबन्दीका कर्मचारी हटाएर आन्दोलनको अवस्था सिर्जना गरेको आरोप पनि उनले लगाए । साथै, राजनीतिक दलका कार्यालयमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण भइरहेको उनको जिकिर थियो ।
उनले भने, ‘बालेन सरकारले दिएका आश्वासन पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटना बढ्दै गएका छन् । दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ । सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुल बन्द गरिए त्यसको परिणाम भयावह हुनेछ । यो सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गरेको छ । जुनसुकै संगठित संस्थाप्रति उसले सकारात्मक दृष्टिकोण राख्दैन । संगठनमाथि आक्रमण गरेर तिनलाई समाप्त पार्न खोजिएको छ । अब के गर्न खोजेको हो ? आफ्नो संगठन बनाउने हो ? उनी नेपाली डिक्टेटर, नेपाली हिटलर भइसकेका छन् । उनले जे बोल्छन्, त्यही ठीक हुन्छ, जे गर्छन्, त्यही कानुन हुन्छ । यसरी देशलाई धराशायी बनाउने काम भइरहेको छ ।’
शिक्षा र स्वास्थ्य क्षेत्रबारे बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होममाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्य प्रभावित हुने बताए ।