सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहको मूलढोकामा अवरोध हुने गरी गाडी पार्किङ गरिएको घटनामा छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए । रास्वपाले यसअघि नै विज्ञप्तिमार्फत उक्त घटनालाई गलत भन्दै छानबिन र कारबाहीको माग गरिसकेको उनको भनाइ थियो ।
लामिछानेले आफ्नो पार्टीले विगतमा पनि गलत गर्ने आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै कानुनी प्रक्रियामा कसैलाई पनि छुट नहुने स्पष्ट पारे । यस्ता गतिविधि रोक्न प्रशासन र प्रहरीले आफ्नो अधिकार प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।
लामिछानेले भने, ‘उनीहरुलाई कारबाही गर्नुपर्छ । पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । सबैभन्दा पहिला हामीले नै भन्यौँ,यो गलत कुरा हो । यो हुनुहुँदैन । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ । हामीले भनेका छौँ र त्यसमा अडिग छौँ । एउटा कुरा के हुन्छ भने, पार्टीले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छ । पार्टीको विज्ञप्तिमा पनि त्यो स्पष्ट रूपमा उल्लेख गरिएको छ । त्यसकारण, तत्काल के गरियो भन्ने एउटा पाटो हो । तर यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । हामी त्यसैमा अडिग छौँ । तत्काल छोडियो कि समातियो, मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो । तर समग्रमा जुन प्रवृत्ति देखियो, त्यो अस्वाभाविक थियो । त्यसैले पार्टीले विज्ञप्तिमार्फत आफ्नो धारणा स्पष्ट गरिसकेको छ र त्यसमा अडिग छ । रास्वपा त्यस्तो पार्टी हो, जसले सबैभन्दा पहिला आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको थियो । त्यसैले रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ भने, जो भए पनि कारबाही हुन्छ। त्यस्तो छुट कसैलाई छैन ।
उनले सुकुम्बासी समस्या समाधानका विषयमा प्रधानमन्त्रीसँग विस्तृत छलफल भएको जानकारी दिए । आम नागरिकले दुःख नपाउने गरी सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र व्यवस्थापनका उपायबारे छलफल केन्द्रित रहेको उनले बताए । उनका अनुसार भेटमा सुकुम्बासी समस्या समाधानका उपाय, राष्ट्रिय राजनीतिको अवस्था, समसामयिक परिस्थिति, आगामी कार्यदिशा तथा दुई शीर्ष नेताबीच हुने राजनीतिक छलफलबारे पनि कुराकानी भयो ।
प्रधानमन्त्रीसँगको छलफल सकारात्मक, सुमधुर र परिणाममुखी रहेको बताउँदै लामिछानेले राजनीतिक सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।