काठमाडौं । सरकारले कानूनविपरीत जथाभावी सवारी साधन पार्किङ गरी ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
मंगलवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारगृह र नेताको निवास अगाडि गरिएको जथाभावी पार्किङमा सरकारको कुनै योजना वा संलग्नता नरहेको स्पष्ट पारे ।
सोमवार कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालय तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि नियमविपरीत सवारी साधन पार्किङ गरिएको थियो । प्रहरीले पछि क्रेन प्रयोग गरी ती सवारी साधन हटाएको थियो ।
घटनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले नियोजित रूपमा यस्तो काम नगरेको बताए ।
‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीका भए पनि गल्तीका आधारमा प्रचलित कानूनअनुसार जे सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ,’ उनले भने ।
मन्त्री पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पुग्ने गरी सवारी साधन पार्किङ गर्ने व्यक्तिको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । यसमा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि कानूनबमोजिम कारबाही हुने उनले स्पष्ट पारे ।
विधिको शासन कायम गर्न र अराजक गतिविधि नियन्त्रण गर्न सरकार कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।