काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकार विकासका कामभन्दा विवादमै बढी अल्झिएको टिप्पणी गरेका छन्।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको १०० दिने कार्यकाल जनसरोकारका विषयमा निराशाजनक रहेको बताए । सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिबद्धता जनाए पनि त्यो अवधि विकासभन्दा बढी विवादमै बितेको उनको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै उनले अस्पतालहरूमा रेबिज र क्यान्सरजस्ता गम्भीर रोगका औषधिको अभाव रहेको बताए । नेप्से परिसूचक घटिरहेको, निजी क्षेत्र अन्योलमा रहेको, युवा पलायन नरोकिएको र कुपोषणको समस्या बढ्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
‘आज सुकुम्बासीहरू बिचल्लीमा छन्, किसानले मल पाएका छैनन्, वर्षात्का कारण ग्रामीण सडकहरू हिलाम्मे हुँदा बालबालिकालाई विद्यालय जान कठिन भएको छ । तर यस्तो विपद्को समयमा पनि सम्बन्धित विभाग विगत तीन महिनादेखि नेतृत्वविहीन हुनु विडम्बनापूर्ण छ । राजदूत नियुक्ति राष्ट्रहितका लागि काम गर्ने गहन दायित्व हो, यसलाई विज्ञापन खोलेर पदपूर्ति गर्ने साधारण कामजस्तो बनाइनु हुँदैन,’ उनले भने ।
रानाले सरकारले राजदूत नियुक्तिलाई ‘जब भ्याकेन्सी’ का रूपमा बुझ्न नहुने बताए ।
सरकारले आफ्नो विफलता ढाकछोप गर्न विगत ३५ वर्षमा केही पनि नभएको भन्ने ‘गलत भाष्य’ निर्माण गर्न खोजेको आरोप पनि उनले लगाए ।