काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको टिप्पणी गरेका छन् ।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सभामुखले विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगर्न आग्रह गर्दै संसद सञ्चालनमा सबै दलप्रति समान व्यवहार गर्नुपर्ने बताए ।
आङ्देम्बेले सभामुख कुनै पनि दलको सदस्य नरहेकाले संसदभित्र आफ्नो संवैधानिक भूमिका बुझेर अघि बढ्नुपर्ने बताए । उनले संसदमा विपक्षी दलले कुनै विषयमा विरोध जनाउँदा सबै दलको तर्फबाट एक जनाले मात्रै धारणा राख्ने व्यवस्था हुन नहुने भन्दै सबै दलका प्रतिनिधिलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताए ।
उनले भने, “संसदभित्र विपक्षीको नाडी छाम्ने काम गर्नुहुँदैन । सभामुखले आफ्नो भूमिका बुझेर अघि बढ्नुपर्छ ।”
आङ्देम्बेले सत्तापक्षका तर्फबाट पटक–पटक विवादास्पद अभिव्यक्ति आए पनि प्रतिपक्षले संसदको दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गरे । त्यसलाई कमजोरीका रूपमा नलिन आग्रह गर्दै उनले प्रतिपक्षको सहयोग मुलुकको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।
उनले सत्तापक्षले विपक्षी दलसँग पर्याप्त समन्वय नगर्दा संसदमा समस्या सिर्जना भइरहेको पनि बताए ।