काठमाडौं । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले सरकार जनभावनाको सम्मान गर्नुभन्दा नागरिकलाई विभाजित गर्ने र दमनकारी कानुन निर्माणतर्फ उन्मुख भएको दाबी गरे ।
शनिबार काठमाडौंमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी–मजदुर सचेतना कार्यक्रममा बोल्दै जम्मरकट्टेलले जनताले ठूलो आशा र भरोसाका साथ दुईतिहाइको जनमत दिए पनि त्यसअनुसार परिणाम आउन नसकेको बताए ।
उनले पुराना राजनीतिक शक्तिप्रति असन्तुष्ट जनताले परिवर्तनको अपेक्षासहित नयाँ नेतृत्वलाई मत दिएको स्मरण गराउँदै अहिलेको सरकारबाट अपेक्षाअनुसारको काम हुन नसकेको उल्लेख गरे ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले नागरिकलाई वर्गीय रूपमा विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने र थुन्नेजस्ता दमनकारी कानुन निर्माणको प्रयास भइरहेको आरोप लगाए । जिम्मेवार मन्त्रीहरूबाटै “खुट्टा भाँचिदिन्छु” भन्ने शैलीका धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक रूपमा आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।
सुकुम्बासी व्यवस्थापनका विषयमा पनि उनले सरकारमाथि प्रश्न उठाए । उचित प्रक्रिया पूरा नगरी, जग्गाको पहिचान र लालपुर्जाको व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने काम जबर्जस्तीपूर्ण देखिएको उनले बताए । व्यवस्थापनअघि बसोबासको सुनिश्चितता, जग्गा पहिचान र कानुनी प्रक्रिया पूरा गरिएको भए उपयुक्त हुने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै जम्मरकट्टेलले भने, “अहिले राजनीतिक अवस्था फेरिएको छ । जनताले दुईतिहाइको मत दिएर सरकारलाई पठाएका छन् । पुरानाले गरेनन्, अब नयाँले गर्छन् भन्ने विश्वासका साथ मत दिएका हुन् । केही गर्छन् होला भन्ने नयाँ आशा पनि थियो । तर सरकारको अवस्था राम्रो देखिँदैन । नेपाली जनताले जे सोचेर मतदान गरे, त्यसअनुसारको काम सरकारले गरेको देखिँदैन । आज वर्ग विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने, थुन्नेजस्ता कानुनहरू निर्माण गर्नेतर्फ सरकार लम्किरहेको छ । हामीले सरकारका मन्त्रीहरूबाट ‘खुट्टा भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिसमेत खुला रूपमा सुन्दै आएका छौँ । बसोवासको निश्चित व्यवस्था नगरी, आवश्यक प्रक्रिया पूरा नगरी सरकारले सुकुम्बासीको व्यवस्थापन गर्ने कुरालाई हामीले नराम्रो भनेका होइनौँ । तर जुन विधि अपनाइयो, जुन तरिका अपनाइयो, त्यो जबर्जस्तीपूर्ण देखियो । यदि पुर्जा दिने, जग्गाको व्यवस्थापन गर्ने, पहिचान गरेर उचित रूपमा वितरण गरेको भए अझ राम्रो हुन्थ्यो । तिनैले त हाम्रो व्यवस्थापन गर्छन् भनेर विश्वास गरी भोट हालेका हुन् । पानी पसेर बाढीका कारण जनताको बिजोग भइरहेको छ । खानसमेत नपाएको गुनासो आइरहेको छ । यस्तो अवस्था किन आइरहेको छ ? सरकारले राम्रो काम गरोस् । जनतालाई धम्काउने, तर्साउने, सबैलाई थुन्छु, ठोक्छु भन्ने भाषा प्रयोग गर्नु उचित होइन । सरकारले कानुनको कार्यान्वयन गर्ने हो, कानुनअनुसार काम गर्ने हो । तर अहिले सरकारका गतिविधिमा जताततै निरंकुश प्रवृत्ति देखिन थालेको छ ।”
जम्मरकट्टेलले सरकारले कानुनको कार्यान्वयन र विधिको शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । जनतालाई तर्साउने, धम्काउने वा निरंकुश व्यवहार प्रदर्शन गर्ने गतिविधि सरकारका लागि शोभनीय नभएको उनको भनाइ थियो । सरकारका गतिविधिमा निरंकुश प्रवृत्ति देखिन थालेको दाबी गर्दै उनले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरे ।