काठमाडौं । नेकपा (एमाले)की सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मोटरसाइकल पार्किङ गरेको विषयमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्थाले गणेश नेपाली आत्मदाहजस्तो चरम निर्णयमा पुग्नुपरेको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखिन्।
उनले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकप्रति गम्भीर हुन नसक्दा नागरिक आत्महत्याजस्तो बाटो रोज्न बाध्य भएको आरोप लगाइन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरिन्।
संसद्मा बोल्दै सुब्बाले भनिन्, ‘मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाइ छ। गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ। यो मृत्यु केवल एउटा व्यक्तिको मृत्यु मात्रै होइन, यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो। घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्नका लागि म जोडदार माग गर्दछु।’
सांसद सुब्बाले प्रधानमन्त्री बालेन्द्र साह संसद्प्रति जवाफदेही नभएको आरोपसमेत लगाइन्।