काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । संविधान संशोधन आवश्यक भए पनि लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता आधारभूत विषय अपरिवर्तनीय रहेको उनको भनाइ छ ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधानका आधारभूत विषयमा पार्टीको धारणा प्रतिज्ञापत्र, विधान र केन्द्रीय कार्यसमितिको निर्णयमार्फत स्पष्ट भइसकेको बताए ।
उनले भने, ‘नेपाली काँग्रेस पार्टीले आफ्नो प्रतिज्ञापत्र, पार्टीको विधान तथा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत संविधानका आधारभूत विषयहरू – लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका विषयमा – कुनैपनि सम्झौता नगर्ने कुरा स्पष्ट पारिसकेको छ ।’
थापाले बहुदलीय संसदीय व्यवस्था, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समानुपातिक समावेशी सिद्धान्त, खुला समाज र मानव अधिकार संविधानका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै ती विषयलाई संकुचित गर्ने कुनै पनि प्रस्ताव कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
यद्यपि लोकतन्त्रलाई परिणाममुखी, संविधानलाई थप समावेशी, नागरिकलाई थप अधिकारसम्पन्न तथा सुशासन, सेवा प्रवाह र सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन आवश्यक क्षेत्रमा संविधान संशोधन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए ।
यसबारे उनले भने, ‘संविधानका सारभूत विषयहरूलाई सङ्कुचित नगर्ने गरी लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी बनाउन, नागरिकलाई थप अधिकारसम्पन्न बनाउन तथा सुशासन, सेवा प्रवाह र सार्वजनिक सेवा वितरणलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक ठाउँमा संविधान संशोधन गर्नुपर्ने काँग्रेसको धारणा छ ।’
संविधानलाई थप समावेशी र नागरिकमैत्री बनाउन आवश्यक संशोधन प्रक्रियामा नेपाली कांग्रेसले नेतृत्वदायी र अग्रसर भूमिका निर्वाह गर्ने पनि थापाले स्पष्ट पारे ।