काठमाडौँ- वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही प्रक्रियामा थप सहजीकरण गर्ने व्यवस्था लागू गरेको छ।
केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन परिमार्जन गर्दै भारतबाहेकका अन्य मुलुकमा अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक बैंक ब्यालेन्स देखाउने प्रावधानलाई अझ लचिलो बनाएको हो। नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशका दूतावास वा सरकारी निकायको सिफारिसका आधारमा तोकिएको रकमभन्दा बढीमा ५ प्रतिशतसम्म अतिरिक्त विदेशी मुद्रा खातामा देखाउन वा सटही गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार विनिमय दरको उतारचढावका कारण लाग्ने अतिरिक्त खर्च यकिन गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै आवश्यक रकममा बढीमा पाँच प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रामा रकम उपलब्ध गराउन सकिने व्यवस्था गरिएको हो।
विद्यार्थीले सामान्यतया मासिक २ हजार ५ सयदेखि ५ हजार अमेरिकी डलरसम्म निर्वाह खर्चका रूपमा सटही सुविधा पाउने व्यवस्था कायम छ। उक्त रकम अभिभावकमार्फत नेपालबाटै पठाउन सकिने व्यवस्था पनि रहेको छ। अन्य शुल्कका हकमा भने आवश्यक कागजातका आधारमा मात्र विदेशी मुद्रा सटही स्वीकृत गरिनेछ।
त्यसैगरी, एकीकृत परिपत्र-२०८२ अनुसार आवश्यक कागजात सक्कल रूपमा पेस गर्नुपर्ने व्यवस्था भए पनि डिजिटल हस्ताक्षरमार्फत प्रमाणित गरिएका कागजातलाई समेत मान्य गर्ने प्रावधान थप गरिएको राष्ट्र बैंकले जनाएको छ। यसले कागजी प्रक्रिया सरल बनाउने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।