काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । शनिबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भारत नेपालसँग पारस्परिक प्रगति, समृद्धि र दुवै देशका नागरिकको कल्याणका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले नेपालका परराष्ट्रमन्त्री खनालसँग यसअघि मोरिससमा भएको भेटबारे स्मरण गर्दै दिल्लीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले नेपाल र भारतबीच जनता–जनताबीचको बलियो सम्बन्ध, सीमापार सम्बन्ध र साझा सांस्कृतिक तथा धार्मिक परम्पराहरूमा निर्मित विशेष सम्बन्ध रहेको उल्लेख गरे ।
त्यसैगरी दुई देशबीच व्यापार, लगानी, ऊर्जा र शिक्षा लगायत विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धहरू निरन्तर विकसित भइरहेको पनि उनले स्मरण गराए । विदेशमन्त्री जयशंकरले स्टार्टअप, एआई, सूचना प्रविधि र नवीकरणीय ऊर्जा जस्ता नयाँ क्षेत्रहरूमा सहयोगलाई अगाडि बढाउने अवसर रहेको भन्दै भारत र नेपालले आफ्नो लामो र खुला सीमामा सुरक्षा कायम राख्न नजिकबाट सहकार्य गरिरहेको पनि बताए। दुई देशले निरन्तर सहयोग गर्दै आएको र अहिले संकटको समयमा भारतले नेपाललाई निर्वाध इन्धन आपूर्ति सुनिश्चित गरेको पनि उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको हालैको भ्रमणले पनि दुवै पक्षले यस सम्बन्धलाई कति महत्त्व दिन्छन् भन्ने कुरा देखाएको जयशंकरको भनाई थियो । उनले भारत–नेपाल सम्बन्धको मार्गलाई निर्णायक रूपमा परिवर्तन गर्ने र तिनीहरूको पूर्ण क्षमतालाई साकार पार्ने अवसर अहिले रहेको भन्दै खनालको भ्रमणले यो उद्देश्यलाई अगाडि बढाउने कुरामा विश्वस्त रहेको तथा पारस्परिक प्रगति र समृद्धिप्रति प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।