
काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक कता हरायो भन्दै प्रश्न गरेका छन् ।
समितिको बुधबारको बैठकमा प्रहरी विधेयकमाथि छलफल भइरहँदा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार विधेयकको खोजी गरेकी हुन् ।
अख्तियार विधेयक यसै समितिले ६ महिनाअघि सर्वसम्मत पारित गरेको थियो ।
नीतिगत निर्णयमा अख्तियारले मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा विवाद भइरहेका बेला उक्त विधेयक समितिबाट पारित भएर रोकिएको भए पनि अख्तियारले नीतिगत निर्णयमाथि भ्रष्टाचारको अभियोग लगाइसकेको माओवादी सांसद राईले बताइन् ।
उनले भनिन्, ‘६ महिनाअघि पारित गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक कता हरायो खै ? भ्रष्टाचार रोक्ने भन्ने, तर त्यसैसँग सम्बन्धित विधेयक किन रोकियो ? नीतिगत निर्णय गरेर कार्यान्वयन भइसकेको छ,
तर किन विधेयक रोक्ने ?’सांसद राईले निजामती विधेयक प्रतिनिधिसभाको कार्यसूचीमा प्रवेश गरेर पनि कुलिङ पिरियडको विषयलाई लिएर रोकिएकोमा आपत्ति जनाइन् ।
उनले भनिन्, ‘कुलिङ पिरियड राख्ने भनेपछि किन रोक्ने रु कार्यसूचीबाट किन हटाइयो ? सभापतिज्यूले सक्नुभएन भने हामी जान्छौँ । गृहमन्त्रीज्यूको स्वभाव मुसुक्क हाँसेर उडाइदिनुहुन्छ ।’