सिन्धुपाल्चोक, १ असोज । गत भाद्र २८ गते भोटेकोशीमा खसेको बोलेरोका चालक ओखलढुंगामा मृत भेटिएका छन् ।
भाद्र २८ गते बिहीबार स्थानीयले भोटेकोशीमा सवारीसाधनको टायर देखिएको बताएपछि क्रेन मगाएर खोज्दा नदीबाट बा २० च २१८५ नम्बरको डबल क्याप बोलेरो बाहिर निकालिएको थियो ।
उक्त बोलेरो भोटेकोशी गाउँपालिका-५ बस्ने वर्ष अन्दाजी ३८ वर्षको सानु शेर्पाले चलाएको र त्यसमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको खुलेको थियो ।
यात्रु तामाङको शव शुक्रवार (घटनाको भोलिपल्ट) घटनास्थलभन्दा अन्दाजी १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईड स्थित सुनकोशी नदीको छेउ ढुङ्गाको कापमा तैरिएको अवस्थामा फेला परेको थियो ।
हिजो दिउँसो ओखलढुङ्गा सुनकोशी गाउँपालिका-१ खुजिमा स्थित सुनकोशी नदीमा एक व्यक्तिको शव भेटिएको थियो । उक्त शव बोलेरो चालक सानु शेर्पाको हो भनी मृतकका छोराले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।
मृतकको शव पोस्टमार्टमको लागि हिजो राती धुलिखेल अस्पताल पठाइएकोमा आज बिहान ३:०० बजे धुलिखेल अस्पताल आइपुगेको प्रहरीले जनाएको छ ।