- डा. रोजन पोख्रेल
कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन् । नेपालमा बर्सेनि यस्ता कारणबाट धेरै मानिसले आत्महत्या गरेका हुन्छन् ।
नेपालमा सरदर प्रति वर्ष सात हजार मानिसले आत्महत्या गरेको देखिन्छ । नेपाल प्रहरीले सङ्कलन गरेको देशभरको विवरणअनुसार आर्थिक वर्ष ०७८/०७९ मा ६,८३०, आ.व. ०७९/८० मा ६,९९३ र गत आर्थिक वर्षमा ७,२२१ जनाले आत्महत्या गरेका छन् ।
माथिको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आ.व. अर्थात् आ.व. २०८०/०८१ को तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइन्छ । महिलाहरूमा आत्महत्याको सोचाई धेरै आएको देखिए पनि आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाको सङ्ख्याभन्दा दोब्बर देखिएको छ ।
मानिसहरू किन आत्महत्या गर्छन् ?
मानिसहरूले आत्महत्या गर्ने कारणहरू धेरै छन् । तर सबैभन्दा महत्त्वपूर्ण कारणका रूपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुने गर्दछ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरू रोक्न सकिन्छ ।
डिप्रेसनका प्रमुख ३ लक्षणहरूमा मन खुसी नहुने, रमाइलो लाग्ने कुराहरूमा पनि मन नलाग्ने र शरीर थकित महसुस हुने गर्दछ । अरू लक्षणहरूमा निन्द्रा नलाग्नु, खाना रुचि नहुनु, कुनै कुराको पश्चात्ताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन् ।
डिप्रेसनका प्रमुख कारण
१) आर्थिक समस्या : अहिलेको कोभिड पछिको समयमा मानिसको आम्दानी घट्नु, बैङ्कको ऋण तिर्न नसक्नु, घर खर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाइन्छ ।
२) पारिवारिक कलह : श्रीमान् श्रीमती, प्रेमी प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानु पनि डिप्रेसनको कारण हुनसक्छ ।
३) कडा रोगको शिकार हुनु: ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ ।
४) सोचेजस्तो गर्न नसक्नु : परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरूले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ ।
स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरूमा पनि आत्महत्या गरेको देखिएको छ ।
कसैले आत्महत्या गर्दै छ भनेर कसरी थाहा पाउने ?
– कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाहीँ हामीले यस्ता सङ्केतहरू पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ ।
– यदि कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रूपमा लिनुहुँदैन । उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोसिस गर्नुपर्छ ।
– कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ ।
– कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरू राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ ।
– हालसालै कठिन परिस्थितिबाट गुज्रिएको छ भने जस्तै, नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए ।
– आफूलाई मनपर्ने कुराहरू पनि अरूलाई दिएको, पुराना कुराहरूमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरूको बारेमा खोज गरेको र भविष्यको बारेमा कुनै पनि योजना नबनाएको छ भने पनि याद गर्नुपर्ने हुन्छ ।
के आत्महत्या रोक्न सकिन्छ ?
माथिका सङ्केतहरू बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ ।
मनोचिकित्सक सँग भेट र मनोपरामर्श : मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै: डिप्रेसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सही पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले बिरामीको समस्याको बारेमा बुझेर आवश्यक औषधीहरू र उचित परामर्श दिने काम गर्दछन् ।
मनोविद्ले पनि साईकोथेरापीको माध्यमबाट बिरामीको मनोवल उच्च गर्ने काम गर्दछन् । नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।
मानसिक रोगहरूमा मानिसहरू अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरू अस्पतालले पनि इन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्न सक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुनसक्छ ।
(लेखक डा. पोख्रेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ हुन् ।)