काठमाडौं, ३२ श्रावण । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भई काठमाडौंको कपन बस्ने उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए।
६५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ।
बिहीबार दिउँसो १:४० बजेको समयमा मध्यपुरठिमी-३ गठ्ठाघरमा काठमाण्डौंबाट भक्तपुर तर्फ आँउदै गरेको ना. ६ ख. २१७३ नम्बरको ट्रकले सोहीदिशा तर्फ आउँदै गरेको कोइराला सवार बा. ४९ प. ८९४४ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
दुर्घटनापछि स्थानीयको अवरोधका कारण बिहीबार केही घण्टा गठ्ठाघरक्षेत्र तनावग्रस्त बन्न पुग्यो ।
भीड नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड हवाई फायर समेत गर्नुपरेको डिएसपी कार्कीले बताए ।
अनियन्त्रित भएको भीडमा परेर जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्ट, परिसर भक्तपुरमा कार्यरत सहायक हवल्दार बहादुरे राउत र मध्यपुरठिमी-३ गठ्ठाघर बस्ने सौगात सापकोटा घाइते भएका थिए । उनीहरूको अवस्था अहिले सामान्य छ ।
भिड नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी परिसर भक्तपुरबाट ११८ जनाको प्रहरी टोली, काठमाण्डौ स्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिएको बताइएको छ ।
दुर्घटना भएको तीन घण्टापछि मात्र प्रहरीले सडकबाट शव उठाउन सफल भएको हो । भीडले गठ्ठाघर चोकमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट आक्रमण गरेको छ ।
ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका-२ बस्ने बर्ष ३२ को सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा परेको स्कुटर प्रहरी वृत्त ठिमीमा राखिएको छ ।
छानविन गर्न गृहमन्त्रीको निर्देशन
गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्।