
बनेपा । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा चिनीको हाहाकार भइरहेको बेला बनेपामा एक ट्रकभित्र ९२ बोरा चिनी बरामद भएको छ ।
बिहीबार दिउँसो ईलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ट्रकमा लुकाईछिपाइ ल्याइएको विलविनाको चिनी बरामद गरेको हो ।
पनौतीबाट बनेपा तर्फ आउदै गरेको ना.६ ख.६२१९ नम्बरको ट्रकमा राजश्व छली गरी धानको बोराले छोपी लुकाई छिपाई गरी अबैध रुपमा ल्याएको ५० किलोको ९२ बोरा चिनी बरामद भएको काभ्रे प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
धुलिखेल-२ बस्ने बर्ष ३७ को राजु तिमल्सिनाले चलाई ल्याएको उक्त ट्रकमा खरिद बिल नभएको कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अबैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ट्रक, ट्रक चालक, बरामद भएको चिनी र धान आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको काभ्रे प्रहरीले जनाएको छ ।