
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३ छप्कैया टोलमा एक व्यक्तिको शव फेला परेको छ ।
हिजो बिहान ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव रेडक्रस ब्लड बैंकको पर्खालनेर भेटिएको भएतापनि अहिलेसम्म उनको सनाखत हुन नसकेपछी जिल्ला प्रहरी कार्यालय पर्साले मृतकको हुलियासँगै तस्बिर सार्वजनिक गरेको छ ।
अन्दाजी ५ फिट ६ ईन्ज उचाई र ६०/६५ केजी तोला भएको ती पुरुषको शरिरको माथिल्लो भागमा लुगा छैन ।
निलो रंगको जिन्स पाईन्ट सेतो स्पोर्ट जुत्ता लगाएको अवस्थामा उनको शव भेटिएको थियो ।
सार्वजनिक भएको तस्बिरमा मृतकको आँखाको डिलनेर र चिउँडोमा चोट देखिएको छ । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले केही भन्न सकिने अवस्था छैन ।

मृतक अघिल्लो दिन अत्याधिक मात्रामा मापसे सेवन गरेर हिडेको स्थानीयले देखेको प्रहरीसामू बताएका छन् । नयाँ मान्छे देखेपछि उनको ठेगाना सोध्दा केही बताउन नसक्ने अवस्थामा रहेको जानकारी स्थानीयले दिएको प्रवक्ता थापाले बताए ।
प्रहरीले मृतकको तस्बिर सार्वजनिक गर्दै उनलाई चिन्नेले जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह समेत गरेको छ ।
शव अहिले नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको डिएसपी थापाले जानकारी दिए ।