
काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान स्कार्पियो दुर्घटना हुँदा दुई जनाको निधन भएको छ ।
आइतबार बिहान ३:३० बजे जिरी लामोसाँघु सडकखण्डमा दोलखाबाट खाडिचौरतर्फ आउँदै गरेको बा१५च ९३७० नम्बरको स्कार्पियो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोमा दुर्घटनामा परेको हो ।
सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
प्रहरी चौकी लामोसाँघुका अनुसार उक्त दुर्घटनामा चालक काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने वर्ष ३६ को उत्तम मर्जहन र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घुम्थाङ बस्ने वर्ष ४१ को बल बहादुर खत्रीको निधन भएको हो ।
निधन भएका खत्री रामेछाप र दोलखाको सीमानामा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने मजदुर रहेको बुझिएको छ ।
उक्त दुर्घटनामा रामेछाप उमाकुण्ड गाँउपालिका-२ बस्ने वर्ष ३७ की संगिता बराईली, उनको आठ वर्षकी छोरी युशा बराईली, गोकुलगंगा गाउँपालिका-१ वस्ने वर्ष ५५ की डोल्मा शेर्पा र काठमाडौं नागार्जुन-७ बस्ने वर्ष १४ को प्रमोद महर्जन घाइते भएका छन् ।
घाइतेको धुलिखेल अस्पताल उपचार भइरहेको छ ।
मृतक चालक र अर्का पुरुषको शव खाडिचौरमा रहेको सिन्धु सदाबाहार अस्पतालमा राखिएको छ । अस्पतालमा उपचारको क्रममा दुवैको बिहान ५:१५ बजे निधन भएको हो ।