
काभ्रे । आफ्नो साथिको हत्या गरेको आरोपमा प्रहरीले दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई पक्राउ गरेको छ ।
उनीउपर काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा बुधबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको हो ।
भाद्र १२ गते बिहान काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-२ ढोलखोलामा बुढाथोकीको शव फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा बुढाथोकी हत्या गरी नालिमा फाल्ने कार्यमा संलग्न उप्रेतीलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत लैनचौरको सहयोगमा घटनाको भोलीपल्ट काठमाडौं ढल्कुबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा बुढाथोकी र उप्रेती लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएको खुलेको छ ।
दुवैबीच आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
उनीहरू बेथानचोक स्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुलेपछि प्रहरीले तिमल्सिनाको घरमा खानतलासी गरेको थियो ।
त्यहाँबाट प्रहरीले सुजन उप्रेतीको झोला, पासपोर्ट सहित ९.७७ किलोग्राम गाँजा फेला पारेको छ ।
घरमा गाँजा भेटिएपछि प्रहरीले घरधनी तिमल्सिनालाई समेत नियन्त्रणमा लिएको छ ।
काभ्रे प्रहरीका अनुसार जिल्ला अदालतबाट सुजन उपर ज्यान सम्बन्धी कसूर मुद्दामा ५ दिन र तिर्थराज उपर लागूऔषध सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।