
काठमाडौं । नेपालबाट २१४ जना शान्ति सैनिकहरू दक्षिण सुडान प्रस्थान गरेका छन् ।
तारादल गण तेह्रौ डफ्फाका २१४ जना शान्ति सैनिकहरू युनाइटेड मिशन इन साउथ सुडानका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा त्यसतर्फ गएको हो ।
यसअघि भाद्र १३ गते सोही मिशनमा सहभागी श्री शेर गण (शान्ति सेना) बाह्रौं डफ्फाका २१२ जना सैनिकहरु स्वदेश फिर्ता भएका थिए ।
अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ रहेको उक्त मिसनमा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेश कम्पनीमा गरी एक हजार ७०० फौज तैनाथ छन् ।
त्यस्तै, सेक्टर कमाण्डर १, स्टाफ अधिकृत ४७ र सैनिक पर्यवेक्षक १० जना सहित कुल एक हजार ७५८ जना नेपाली सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

यो हाल नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खट्टिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिशन हो ।
नेपालबाट विभिन्न १३ मिशनहरुमा ६ हजार ७० जना शान्ति सैनिक कार्यरत रहेका छन् । यो संख्यासँगै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको बताइएको छ ।
त्यस्तै शान्ति सेनामा महिला सहभागी गराउनेमा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालबाट ५६४ महिला शान्ति सैनिकका रुपमा खटिएका छन् ।