
काठमाडौँ । शान्तिसेनामा सबैभन्दा बढी महिला सहभागी गराउने मुलुकमा नेपाल पहिलो नम्बरमा रहेको छ।
नेपालबाट ५६४ महिला शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता भएको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विभिन्न १३ मिशनहरुमा ६ हजार ७० जना शान्ति सैनिक कार्यरत रहेका छन् । यो संख्यासँगै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालबाट शान्तिसेनामा महिला सहभागिता सन् २००० देखि भएको हो। त्यति बेला युनिफिलमा एक जना डाक्टर र एकजना नर्स महिला सहभागी भएका थिए।
यसैबीच सैनिक प्रहरी युनिट नवौँ डफ्फामा ७१ जना शान्ति सैनिक आइतबार सेन्ट्रल अफ्रिकन रिपब्लिकतर्फ प्रस्थान गरेका छन्।
प्रमुख सेनानी अशोककुमार मल्लको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा त्यसतर्फ गएको हो। सोही मिसनमा सहभागी शान्ति सेना आठौँ डफ्फाका ७१ जना सैनिक प्रमुख सेनानी भगत तामाङको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए।