
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरुमा महिला शान्ति सैनिकको रुपमा खटाउने देशमा नेपाल शीर्षस्थानमा रहेको छ ।
विभिन्न देशमा सञ्चालन भइरहेका मिसनहरूमा अहिले नेपाली महिला शान्ति सैनिकको सङ्ख्या ५८२ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीका अनुसार विश्वभर तैनाथ मिसनहरुमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमा नेपाल दोस्रो वरियतामा रहेको छ ।
यसैबीच मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णय अनुरुप त्यहाँ कार्यरत ८१ जना शान्ति सैनिकहरू प्रमुख सेनानी चित्र कुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरु सहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा आज स्वदेश फिर्ता भएका छन् ।
त्यहाँ रहेका १५६ जना सैनिक एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरत समेत १६८ जना मध्येमा पहिलो टोली नेपाल आइपुगेको हो ।