हेटौंडा । नक्कली नेपाली नोटसहित मकवानपुरबाट तीनजना व्यक्ति पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगर-१५ चुरीयामाई मन्दिर नजिकबाट हिजो (बिहीबार) बेलुका प्रहरीले दुईजनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ बस्ने बर्ष अन्दाजी १९ को धर्मेन्द्र महरा र सोही ठाउँमा बस्ने बर्ष २१ को दिपेश दास रहेका छन् ।
पैदल हिडिरहेका दुईजनालाई शंका लागेर चेक गर्दा महराको साथबाट प्रहरीले एक हजार दरको नक्कली नेपाली नोट ९५ थान बरामद गरेको हो ।
दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा लगेर सोधपुछ गर्ने क्रममा उनीहरूले उक्त नक्कली नोट मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने बर्ष अन्दाजी ४० को बिजय तामाङबाट ल्याएको बताएपछि प्रहरीले तामाङलाई समेत नियन्त्रणमा लिएको छ ।
तीनजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ को मुद्रासम्बन्धी कसुरअन्तर्गत दफा २५६ मा कसैले मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। मुद्रा राज्यले मात्र बनाउन पाउँछ। त्यस्तो काम गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाख रुपियाँसम्म कैद हुने व्यवस्था छ।
त्यस्तै त्यही ऐनको दफा २५७ मा कसैले खोटो मुद्रा हो भन्ने जानी–जानी सद्देसरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा बिक्री गर्न, निकासी वा पैठारी गर्न, लेनदेन गर्न, सद्देसरह चलनमा ल्याउन वा त्यसको उद्योग गर्न वा आफूसँग राख्न हुँदैन भन्ने उल्लेख छ। त्यस्तो अपराधमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिबाना हुन सक्ने व्यवस्था छ।
उक्त ऐनमा भनिएको छ-नोट जलाउन, नोटमा केर्न, लेख्न, च्यात्नसमेत हुँदैन। रोक लगाएको नोट चलनमा ल्याउन पनि हुँदैन। मुद्राको तौल घटाउन तथा रूप बदल्न हुँदैन। ती कार्य दण्डनीय छन्। जानी-जानी त्यस्तो कार्य गर्नु अपराध हो।