
पर्सा । १६ वर्षीया बालिकाले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार महिलाको निधन भएको छ ।
जिल्लाको पर्सा बिन्दबासिनी गाउँपालिका-५ प्रसौनीचोकमा आइतबार साँझ बालिकाले चलाएको मोटरसाइकल दुर्घटना परेको हो ।
दुर्घटना भएको मोटरसाइकल भारतबाट नेपालतर्फ आउँदै गरेको थियो ।
बीआर०५एएस ०४६८ नम्बर रहेको उक्त मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भारतीय नागरिक अन्दाजी वर्ष ६० की सदामा देवी घाइते भएकी थिइन् ।
मोटरसाइकल चलाउने बालिका १८ वर्षभन्दा कम उमेरको भएकाले उनको नाम सार्वजनिक गरिएको छैन ।
घाइते भएकी महिलालाई उपचारको लागि अस्पताल लैजान सवारीसाधन खोज्ने क्रममा उनको निधन भएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले केटिएम दैनिकलाई बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले दुर्घटनामा संलग्न मोटरसाइकल र उक्त मोटरसाइकल चलाउने बालिकालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ती बालिकासँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ ।
नेपालमा रहेका आफन्तलाई भेट्नको लागि आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । मृतक र बालिका नातेदार रहेको बताइएको छ ।
नेपालको कानुनले दुई पाङ्ग्रे सवारीसाधन अनुमति पत्र पाउनको लागि १६ वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै छिमेकी मुलुक भारतमा पनि नेपालमा जस्तै १६ वर्षमा दुई पाङ्ग्रे र १८ वर्ष पुगेपछि चार पाङ्ग्रे (लाइट भेहिकल्स) चलाउन अनुमति पत्र पाइन्छ ।
सवारी-तथा-यातायात-व्यवस्था-ऐन-२०४९ को परिच्छेद-४ मा सवारी चालक अनुमति पत्र सम्बन्धी व्यवस्था छ । हेर्नुहोस् तल ।