
काठमाडौँ । आज बिहान काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको यात्रुवाहक दुर्घटनामा निधन भएका आठ जनामध्ये तीन जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार उक्त दुर्घटनामा दुई महिला सहित आठ जनाको निधन भएकोमा एक बालिकासहित तीन जनाको सनाखत भएको हो ।
मृतकमध्ये म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने वर्ष ५० को थान बहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका-१ बस्ने वर्ष १५ कि कृतिका शर्मा पौडेल र धादिङ गजुरी गाउँपालिका-८ बस्ने वर्ष अन्दाजी २५ को सविन रम्तेलको परिचय खुलेको प्रवक्ता जैसवारले बताए ।
निधन भएका पाँच जनाको परिचय खुल्न बाँकी नै छ ।
काठमाडौँबाट बिहान ७ बजे छुटेको म्याग्दी कोरला यातायात प्रा.लीको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस ११:१५ बजे धादिङ गजुरी गाउँपालिका-०२ चालिसेबाट त्रिशूली नदीमा खसेको हो ।
बस सडकबाट अन्दाजी ४० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जना बङ्गलादेशी नागरिक समेत रहेका छन् ।
उक्त दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धादिङ प्रहरीले जारी गरेको सूचनाअनुसार टिचिङ अस्पताल मलेखुमा पर्वत मोदी गाउँपालिका-१ बस्ने वर्ष ४१ को गुरुदत्त शर्मा पौडेलको उपचार जारी छ । उनको निधारमा चोट लागेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गजुरी अस्पतालमा उपचार सम्भव नभएपछि १४ जनालाई काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचनामा उल्लेख छ ।
दुर्घटनामा एक जनाको सकुशल उद्धार गरिएको छ । बसका सह चालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ बस्ने वर्ष ३४ को रोशन तामाङको सकुशल उद्धार गरिएको हो ।
घाइतेमध्ये एक जनाको डिस्चार्ज भएको छ । डिस्चार्ज हुनेमा बागलुङ गलकोट बस्ने वर्ष ६८ कि ज्ञानु बुढामगर रहेका छन् । उनको आँखामा चोट लागेको छ ।
अहिलेसम्म क्षतिको विस्तृत विवरण आउन सकेको छैन । घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमाण्डमा २५ जना, जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी उपरीक्षकको कमाण्डमा १३ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जना गरी ४८ जना प्रहरीहरू खटिएका छन् ।
काठमाडौँ रेफर गरिएका घाइतेहरूको विवरण
१) बस चालक जिल्ला म्याग्दी बेनी नगरपालिका-६ बस्ने वर्ष ३० को दीपक थापा, टाउकोमा चोट अवस्था मध्यम ।
२) जिल्ला म्याग्दी बेनी नगरपालिका ३ बस्ने वर्ष २४ को पूर्ण छन्त्याल टाउकोमा चोट अवस्था मध्यम ।
३) ऐ, अन्नपूर्ण गाउँपालिका- १ बस्ने वर्ष १९ को कुशल अधिकारी शरीरको भित्री भागमा चोट अवस्था मध्यम ।
४) नाम थर वतन नखुलेको अं. वर्ष ३०/४० कि महिला शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर ।
५) नाम थर वतन नखुलेको अं. ३०/३५ को पुरुष शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर ।
६) नाम थर वतन नखुलेको अं. वर्ष ३५/३६ को पुरुष टाउको र हातमा चोट अवस्था गम्भीर
७) जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका-९ बस्ने वर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अवस्था मध्यम ।
८) जिल्ला म्याग्दी मंगला गाउँपालिका-२ बस्ने वर्ष १६ कि गीता सिंजाली मगर टाउकोमा चोट अवस्था मध्यम ।
९) जिल्ला बागलुङ बस्ने वर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अवस्था मध्यम ।
१०) जिल्ला पर्वत फलेवास नगरपालिका बस्ने वर्ष अं. ६३ कि हरिकला गौडेल घाँटीमा चोट अवस्था मध्यम ।
११) जिल्ला म्याग्दी अन्नपूर्ण गाउँपालिका-३ बस्ने वर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अवस्था गम्भीर ।
१२) जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका-७ बस्ने वर्ष २९ को प्रविन पुन टाउकोमा चोट अवस्था गम्भीर ।
१३) देश बङ्गलादेश बस्ने वर्ष ३२ को मोहम्मद हजिरहुल शरीरमा सामान्य चोट, ।
१४) जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका-६ बस्ने वर्ष २३ कि रीना राना मगर टाउको र ढाडमा चोट अवस्था मध्यम ।