विराटनगर । मोरङको विराटनगर महानगरपालिका – १२ गराहा टोलमा बस्ने एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
दुई सन्तानको आमा रहेकी २२ वर्षीया सुष्मा देवी राय आज बिहानमा घरमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार प्रहरीमा आज बिहान पाँच बजे उक्त घटनाको खबर आएको हो ।
केटिएम दैनिकसँगको टेलिफोन कुराकानीमा दाहालले भने, ‘घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली खटिएको छ । उनीहरूले घटनास्थलको प्रारम्भिक अनुसन्धानपश्चात शव पोस्टमार्टमको लागि अस्पताल पठाएका छन् ।’
मृतकका माइती पक्षले श्रीमानले कुटपछि हत्या गरेको आरोप लगाएका छन् ।
सुष्माको चार वर्षअगाडि सुरज शर्मासँग विवाह भएको थियो । प्रेम विवाह गरेका उनीहरूका तीन वर्षको छोरी र छ महिनाको छोरा छन् ।
शनिबार दिउँसो सुष्मा श्रीमानले कुटेको भन्दै आफ्नो माइती घर विराटनगर-१२ सैनिक टोलमा पुगेको माइती पक्षले बताएका छन् । माइती पक्षले सम्झाईबुझाई गरेपछी उनी घर फर्किएको बताइएको छ ।
प्रहरी प्रवक्ता दाहालले अहिले नै मृत्युको कारण भन्न नसकिने बताए । उनले भने, ‘शव पोस्टमार्टमको लागि पठाएका छौं । त्यहाँबाट ‘कज अफ डेथ’ मृत्युको कारण आउने छ।’