घटना १
अघिल्लो सालमा चितवनकी २८ वर्षीया सबिता भण्डारीको आत्महत्या प्रकरण चर्चित बन्यो । सामाजिक सञ्जालमा एउटा ‘अपत्यारिलो’ भिडिओ भाइरल भयो, जुन भिडिओमा ससुरा रमेशकुमार धितालले सबितालाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको देखिन्थ्यो ।
सबिता आफ्नै घरमा पटक-पटक यस्ता यौन हिंसा सहन बाध्य भइन् । आफ्नी छोरीसमानकी बुहारीलाई कुदृष्टि राखेर ससुराले धम्की दिएर पटक-पटक यौन दुर्व्यवहार गरे । सबिताले पटक–पटक घरपक्षबाट आफूमाथि दुर्व्यवहार हुने गरेको कुरा बहिनीलाई सुनाउने गरेको थिइन् । त्यसपछि बहिनीले पछि काम लाग्न सक्छ भन्दै दिदीलाई लुकेर भिडिओ खिच्न लगाएकी थिइन् । उनले ससुराले गर्ने हर्कतको भिडिओ बनाएर आफ्नी बहिनीलाई २०७७ माघ महिनामा पठाइन् ।
यतिमात्र होइन, घर परिवारको व्यवहारबाट सबिता आजित थिइन्, उनलाई यस्तो हर्कत सहेर बाँच्न मन नै लाग्दैनथ्यो । उनले आत्महत्या गर्नुभन्दा केही दिनअगाडि मात्र ‘मसँग बोल्ने आँट पनि छैन । म एकदमै होपलेस र हेल्पलेस भइसकेँ । के भन्ने केही पनि छैन । टेक केयर, राम्रोसँग बस्नू । धेरै स्ट्रङ हुन खोजेँ तर म भित्रैबाट विक (कमजोर) भइसकेँ । अब त्यति धेरै स्ट्रङ हुन सक्दिनँ । म यो दिनदिनैको पेन (दुःख) नि सहन सक्दिनँ । दिनदिनै मलाई यो धेरै नै भइसक्यो । एकदम टोलरेट गर्न नि नसक्ने भइसकेँ एकदम इनफ नै भइसक्यो,’ भनेर आफ्नो बहिनीलाई म्यासेज गरेको थिइन् ।
४ वैशाखमा सबिताको चितवनको भरतपुर महानगर-१९ शारदा नगर बख्यान चोकस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको निष्कर्ष निकाल्यो ।
घटना २
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मीको २०७८ साल असोज अन्तिम सातामा रहस्यमय तरिकाले मृत्यु भयो । ढवाहकै सुमन खनालसँग २०७५ सालमा वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मीलाई सुमनले विवाह गर्दा कुनै पनि दाइजो नचाहिने बताए पनि विवाहपछि भने बारम्बार दाइजोको विषयलाई लिएर मानसिक तनाव दिँदै आएको माइतीपक्षले आरोप लगाइरह्यो ।
असोज २३ गते उनको अमेरिका उड्ने फ्लाइट थियो । त्यसैले पनि असोज २० गते उनले घरको आफू सुत्ने कोठाका सबै समान मिलाएर , दराजको सामग्री सुरक्षित पारेर उसै दिन माइतीलाई भेट्न हिँड्ने तयारी गरिरहेकी थिइन् ।
असोज २० गते बिहान ११ बजेर ५८ मिनेटसम्म माइतीसँग म्यासेन्जरमा कुरा गरेकी अनिताले मम्मी (सासू-आमा) अहिले बुटवल जानुभएको छ, उहाँ आउनेबित्तिकै माइत आउँछु भनेकी थिइन् । त्यसपछि १२ बजेर २ मिनेटमा अमेरिकामा रहेका पति सुमन खनाललाई म्यासेन्जरमा- ‘बूढो मलाई माथि मम्मीले बोलाउनु भएको छ, माथि जान्छु’ भनेकी अनिता झुन्डिएको अवस्थामा मृत फेला परेको थिइन् ।
माइती परिवारले छोरी त्यसको ‘कहिबेर पछि आउँछिन् भनेर बाटो कुरेर बसेका थिए । तर उनीहरूले छोरी होइन, छोरीको लासमात्र देखे । माइतीपक्षले सुनौलो सपना बुनेर पतिलाई भेट्न अमेरिका जान लागेकी छोरीले यसरी आत्महत्या गर्न नसक्ने भन्दै उजुरी गरे, विभिन्न संघसंस्थाहरूको सहकार्यमा आन्दोलन पनि गरे तर अहँ: त्यसले केही निचोड निकाल्न सकेन ।
रेजिनाको बुबाले छोरी अमेरिका उड्नेसहितका कुरा सविस्तार सुनाउँदै भने, ‘छोरी त्यसैदिन यता माइती आउने, अर्को दिन कात्तिक २१ गते छिमेकका सबै आफन्तहरूलाई भेटघाट गर्ने र २२ गते बिहानै मनकामना दर्शन गरेर काठमाडाैँ जानका लागि मैले स्करपियो गाडी बुकिङ गरी सकेको थिएँ । अर्को दिन २३ गते दिउँसो त्यहाँ किनमेल गरेर साँझ साढे ८ बजेको फ्लाइटमा उड्ने गरी टिकट लिइसकेका थियौँ।’
उनीहरूले कतार एयरलाइन्सको टिकट लिइसकेका थिए । तर, छोरी अमेरिका पुग्न सकिनन् । बरु उनको शवमात्र माइतीपक्षले भेट्टायो । यो केसमा पनि दुई/चार दिन आन्दोलन भयो र घटना यतिकै सेलाउँदै गयो ।
घटना ३
मोरङको उर्लाबारी नगरपालिका–८ दुर्गापुरी माइती भई सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्लेसँग बिहे गरेकी २१ वर्षीया रोजिना गिरी (काफ्ले) को शव २०७८ असोज ३ गते आइतबार बिहान ७ बजेतिर उनकै कोठामा भेटियो ।
माइती पक्षले आफ्नो छोरीले आत्महत्या गर्न नसक्ने भन्दै प्रदर्शन गरेर अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन माग गरेपछि प्रहरीले काफ्ले र गिरी दुवै परिवारका साथै छिमेकी लगायतसँग सोधपुछ गर्दै अनुसन्धान अगाडि बढायो । त्यसबीचमा प्रहरीसमक्ष आइपुगेको पोस्टमार्टम रिपोर्टले पनि रोजिनाले आत्महत्या ठहर गरेपछि प्रहरी पनि हत्या नभई आत्महत्या नै हो भन्ने निर्णयमा पुग्यो ।
बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीले उनलाई आत्महत्या गर्न बाध्य पारिएको ठहर गर्दै विनोदसहित उनका दाजु–भाउजू र आमाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्यो । विनोदका दाजु गणेश काफ्ले, विनोदकी भाउजू र आमाविरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा मुद्दा चलाएको भए पनि परिवारका अन्य सदस्यमा मुद्दा नलाग्ने भन्दै विनोदविरुद्ध मात्र मुद्दा दर्ता भएको थियो ।
तर विनोदविरुद्धको मुद्दा पनि धेरै दिन चलेन । पक्राउ परेको दुई दिनमै कात्तिक ५ गते उनी तीन लाख धरौटीमा रिहा भए । विनोद रिहा भएपछि रोजिनाको माइती पक्ष पुनः असन्तुष्ट बन्यो । दुवै परिवारको अनुमति नपाएपछि विनोद र रोजिना गिरीले २०७७ साल असारमा भागी विवाह गरेका थिए ।
घटना ४
२०७७ साल असारमा मकवानपुरको सूर्यचोकमा २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको शव भेटियो । सुरुमा आत्महत्या गरेकी भनिएपनि प्रहरीको अनुसन्धानमा मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरू दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो ।
प्रहरीले सुस्मिता थापाको हत्याको कारणमा भौतिक आक्रमणदेखि जबर्जस्ती करणी उद्योग लुकाउनेसम्मको कारण देखिएको खुलाएको थियो । सुस्मितामाथि ससुरा प्रकाश थापाले जबर्जस्ती करणी उद्योग गरेको समेत खुलेको थियो । असार १ गते रक्सी पिएर ससुरा प्रकाश थापाले काठको लौरोले खाना खाइरहेकी बुहारीलाई प्रहार गरेको र परिवारका अन्य सदस्यले समेत आक्रमण गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो ।
हत्याको अभियोगमा सुस्मिताककी नन्द सीता थापा पनि पुर्पक्षका लागि थुनामा छिन् ।
घटना ५
‘सरिता, म मरेमा को छ र रुने, निरकमल दुई चार महिना आमालाई पीर हुने’ टिकट बनाएको केही दिनमा नै तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय तरिकाले मृत्यु भयो ।
आठ वर्षअगाडि प्रेम विवाह गरेकी अमृताको माइती र घर नजिकै छ । उनी माइती र घर ओहोरदोहोर गरिरहन्थिन् । प्रेम विवाह गरे पनि वैवाहिक जीवनमा खटपट भएपछि उनले सम्बन्धबिच्छेद गरौँ भनेर पतिलाई भनिरहन्थिन तर अंश दिनुपर्छ भनेर उनको कुरा कसैले सुनेनन् ।
उनीहरूबीचमा भइरहेको कलहको बारेमा बुटवल उप-महानगरपालिकामा पनि पटकपटक उजुरी पुगेको थियो तर पनि सम्बन्धित निकाय मौन भइदियो । उसले पनि पटकपटक मिलेर बस्न सुझाव दियो ।
चैत्र ३० गते बुधबार, अमृता मसान्त मनाउन माइत गएकी थिइन् । उनलाई घरबाट पतिको फोन आयो, ‘तँ छिटो घर आइज, नत्र भने तेरो छोराको मुख देख्न पाउँदिनस्’ । छोरालाई नै मार्छु भनेपछि उनी हतारहतार गरेर घर गइन् । तर घर पुग्दा उनले कुटाइ खान सुरु गरिन् । उनको घरमा मामा ससुरा, माइजूसासू, पति सबै मिलेर कुटे । उनले कुटाइ खाएको पाँच वर्षको छोराले टुलुटुलु हेरेर बस्न बाध्य भयो ।
उनले ९ बजेर ७ मिनेटमा दाजुलाई म्यासेज गरिन्, ‘दाजु मलाई कुटेर मार्न लागे’ त्यसको केही समयमा माइतीको दाजुलाई ‘तेरो बहिनी विष खाएर मरी’ तत्काल अस्पताल आइज भनेर खबर आयो । १० बजे अस्पतालले उनलाई मृत घोषणा गर्यो । र टिकटकमा अमृताले भने झैँ उनको दुःखद निधन भयो ।
अमृताले उनको दाजुलाई गरेको एउटा म्यासेजले सम्पूर्ण बुहारीहरूलाई झस्काएको छ । उनले ह्वाटएपमा आफ्नो दाजुलाई म्यासेज गर्दै लेखेकी छिन्, ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन्, ‘तेरो माइती जा’, चेलीको जिन्दगी पनि घरको न घाटको, अब यो चेली कहाँ जाने ? माइतीलाई इज्जत प्यारो, विवाह गरेर गएकी चेलीलाई घरकाले टिक्न नदिने, चेलीको फेर्ने सास गयो ।’
अमृताले म यो केटासँग घर गरी खान सक्दिनँ, मलाई न्याय दिलाइदिनुस् भनेर पटकपटक उजुरी गरे पनि उनलाई मिलेर बस्न बाध्य पारियो र उनले आफ्नो ज्यान फाल्न विवश भइन् ।
यी त घरेलु हिंसाका केही उदाहरणहरू मात्र हुन् । घरेलु हिंसाका घटनाहरू दिनानुदिन बढ्दै गइरहेको छ । एकातिर घरेलु हिंसा बढ्दै गइरहेको छ भने अर्को तिर सम्बन्धित निकाय नै मौन बसिदिएको छ ।
सासू–बुहारीलाई लिएर नेपाली समाजमा दुई उक्ति प्रचलित छन् । एउटा ‘बुहारी पनि एक दिन सासू बन्छे’ र अर्को ‘सासू पनि कुनै दिन बुहारी थिई ।’ दुवै कथनले बुहारी र सासूबिचमा मधुर सम्बन्ध हुनुपर्ने र उनीहरूको व्यवहारमा पनि मधुरता हुनुपर्ने निचोड निकाल्छ ।
तर कतै बुहारी त कतै सासू ‘कडा’ बनिदिँदा घर नर्क बनिदिन्छ र त्यहाँ जस्तोसुकै आपराधिक घटना घट्न सक्छ । अक्सर बुहारी यस्तो मामलामा प्रताडित बनेका घटनाहरू छन्, जसका कारण उनीहरू आत्महत्याजस्तो निर्दय निधोमा पुग्न सक्छन् । बुहारी हत्या तथा आत्महत्याका प्रायः घटनाको पछाडि घरेलु हिंसा जोडिएको छ ।
यस्ता घटनामा घरतिरका मात्र नभएर माइती पक्ष पनि केही हदमा दोषी देखिन्छन् । आफ्नी छोरीलाई हुर्काउने क्रममा वा समाजीकरण गर्ने क्रममा हामी उनीहरूलाई भन्छौँ– ‘तिमी छोरी हौ, तिमीले सहनुपर्छ । आँसु देखाएर अरूलाई हसाउन हुँदैन ।’ यस्तो भावनात्मक हिंसा माइती पक्षले गरेको हुन्छ, जस कारण उनीहरू जस्तोसुकै हिंसा स्विकार्न तयार हुन्छन् । यसले उनीहरू हिंसामा बाँच्न, हिंसालाई स्विकार्न बाध्य हुन्छन् ।
बुहारीको रहस्यमय हत्या कहिलेसम्म ?
‘सरिता, म मरेमा को छ र रुने, निरकमल दुई चार महिना...
शुक्रवार, वैशाख २ २०७९छोरीहरूले जब विवाह भएर गएको घरमा असुरक्षित अनुभूति गर्छन्, त्यस बेला उनीहरू निर्धक्क आफ्नो जन्म घरमा फर्कन सक्दैनन् । आफ्ना दुखेसो ढुक्क भएर दाजु–भाइ तथा आमाबुबासँग पोख्न सक्दैनन् । कारण, उनीहरूले विवाहअगाडिको आफ्नो घर र विवाहपछिको माइतीघरको वातावरण फरक भइसकेको पाउँछन् । ‘जे भए पनि मिलेर बस्नुपर्छ, कुटुम्बसँग नराम्रो समाजका अगाडि उदाङ्गो बन्नु हुँदैन’ भन्ने गरेका कारण पनि माइतीसँग धक फुकाएर कुरा राख्न हिच्किकाउँछन्, उनीहरू ।
वर्षौँ आफू बसेको घर विवाहपछि पराइ भइदिने भएका कारण घरतिर दुःख पर्दा खुलेर माइतकालाई भन्न सक्दैनन् जसबाट उनीहरूमाथि हिंसाको थप उग्र रूप निम्तिइरहन्छ ।
विवाह हुँदै गर्दा ‘मारे पाप, पाले पुण्य’ भन्दै छोरीलाई कन्यादान गर्ने परिपाटी छ । हिन्दु संस्कारअनुसार विवाह गर्दा माइती पक्षले केटा पक्षलाई आफ्नी कन्यालाई दानका रूपमा दिएको भन्दै कन्यादान गर्ने गरिन्छ । जहाँ, कन्यालाई वैदिक विधिअनुसार सङ्कल्प गरी दुलाहाको हातमा दुलही जिम्मा दिइन्छ । यो सामाजिक रीति वर्षौँदेखि चलिआएको छ । छोरी कन्यादान दिने वस्तु होइन । तर कन्यादान भन्दै छोरीलाई सुम्पिएर माइती पक्ष विवाहोत्तर छोरीबाट टाढिएको अवस्था छ ।
‘माइती पक्षले आफ्नी चेली विवाह गरेर गइसकेपछि अब उसको घर होइन, यो त ऊ कहिलेकाहीँ आउने माइती मात्र हो भन्ने सोच राख्नुहुन्छ,’ महिला अधिकारकर्मी बबिता बस्नेत भन्छिन्, ‘विवाह गरेकी चेलीलाई माइती पक्षले अपनत्व महसुस गराउँदैनन् । जसका कारण पीडा पाउँदा पनि उनीहरूले आफ्नो माइती पक्षलाई खुलाउन सक्दैनन्, यसैले पनि आत्महत्याजस्तो कठोर निर्णय आत्मसात् गर्न सक्छन् उनीहरूले ।’
आफ्नी दिदीबहिनीलाई बिहेपछि पराइ ठानिदिने रीतिबाट उन्मुक्त भई ऊ पनि आफ्नै परिवारको सदस्य हो र भोलिका दिनमा कतै अफ्ठेरो परेमा यो घर उसकै हो भन्ने भावना राख्नुपर्ने उनको सुझाव छ । ‘बिहेपछि छोरीको घरलाई स्टोर रुम बनाइन्छ, यसबाट पनि एउटी चेलीले माइतीघरले आफूलाई भुल्दै गरेको अनुभव गर्छन्,’ उनी भन्छिन्, ‘पछि दुःख पर्दा मेरो कोही पनि छैन भन्ने सोच्न सक्छन् ।’
यस्तै, अर्की महिला अधिकारकर्मी मोहना अन्सारी बिहेमा ‘मारे पाप, पाले पुण्य’ भन्दै छोरीलाई कन्यादान गर्ने परिपाटीका कारण पनि माइतमा दुःख बिसाउन गाह्रो मान्ने गरेको बताउँछिन् । हाम्रो समाज छोरीलाई सन्तानकै रूपमा नहेर्ने र छोरीलाई परेको समस्यालाई समस्या नै नठान्ने मनसायबाट ग्रसित रहेको आरोप उनको छ ।
यसकै कारण पनि उनीहरूले माइतकालाई पीडा पोख्न नसकेको उनको ठम्याई छ । ‘छोराको प्राथमिकताले छोरीलाई बिहे गरेर गइसकेपछि उनीहरूको समस्या आफ्नो नभएको सोच माइती पक्षमा हुन्छ,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा सम्बन्ध विच्छेद भएकी छोरीलाई घरमा राखेमा समाजले के भन्छ भन्ने डर माइती पक्षलाई रहन्छ । चाहे उनीहरूको अनुहारमा चिथोरिएको घाउ किन नहोस्, सिन्दूर पोते लगाएर समाजमा देखिने गरी हाँस्नुपर्छ भन्ने मान्यता छ ।’
समाज शास्त्री चन्द्र उपाध्याय परिवार नै पहिलो शिक्षालय भएका कारण परिवारले विभेद वा घरेलु हिंसाबारे आफ्ना सन्तानलाई शिक्षा दिन आवश्यक रहेको बताउँछन् । ‘छोरीले सहनुपर्छ वा अनेकन् पीडा स्विकारेर अगाडि बढ्नुको विकल्प छैन भनेर परिवारमा शिक्षा दिँदा पनि उनीहरू हिंसा सहन बाध्य छन्,’ उनी भन्छन्, ‘एउटी बालिकाले आफ्नी आमा भोकै बसेर अरूलाई खुवाएको देख्छिन् र त्यस्तै प्रकारको ज्ञान लिन्छिन् । यो हटाउन जरुरी छ । समानताको सुरुआत आफैँबाट र आफ्नै परिवारबाट गर्न आवश्यक छ ।’
छोरीलाई घरेलु हिंसाबाट जोगाउने पहिलो शर्त भनेकै पीडकबाट टाढा राख्ने हो । तर जन्म घरदेखि नै सुरु हुने बहु आयामिक विभेदले छोरीलाई हिसिंत हुन् सहज बनाएको छ । छोरी घर नबसेर बाबुआमासँग बस्न आउनुको अर्थ बुबाआमा मात्रले पनि बुझिदिने र बिनाशर्त माइतमा रहिरहने अनुमति दिने हो भने प्रणाली परिवर्तन नभए हत्या–आत्महत्याका घटना धेरै कम हुनसक्छ । छोरीहरूले सम्मानित जीवन त धेरै परको कुरा बाँच्नकै लागि लडाइँ गर्नुपर्ने बाध्यताको अन्त्य कहिल्यै भएन । यो समाजलाई छोरीहरूको निम्ति असुरक्षित रणभूमि बनाउन हरेक पक्ष जिम्मेवार छ ।
ओरेक नेपालले , २०७७ मा गरेको महिलामाथि भएको हिंसा र महिलाको वैवाहिक अवस्थालाई विश्लेषण गर्दा हिंसा प्रभावित महिलाहरूमा सबैभन्दा बढी ७७.२ प्रतिशत (१,३१८ जना) विवाहित महिलामाथि हिंसा भएको पाइएको छ ।
१९.६ प्रतिशत (३३५ जना) अविवाहित, २.१ प्रतिशत (३६ जना) एकल, ०.६ प्रतिशत (१० जना) विवाहित तर पारिवारिक मनमुटाबका कारणले अलग बस्दै आएका महिलामाथि हिंसा भएको छ । यसै गरी ३ जना कानुनी र सामाजिक रीतिरिवाज अनुरुप विवाह नगरेका तर विवाहितसरह बस्दै आएका र ५ जना पारपाचुके गरेर बसेका महिलामाथि हिंसा भएको अध्ययनमा उल्लेख छ ।
यस्तै अर्को एक प्रतिवेदनअनुसार ४८ प्रतिशत नेपाली महिलाले कुनै न कुनै प्रकारको हिंसा भोग्दै आएका छन्, जसमा १५ प्रतिशत यौन हिंसा पर्दछन् ।
पछिल्लो समय बुहारी हत्या/आत्महत्याका प्राय घटनाको पछाडि घरेलु हिंसा जोडिएको देखिन्छ । भारतीय अभियन्ता कमला भासिन भन्छिन्, ‘ छोरीहरूले जब विवाह भएर गएको घरमा असुरक्षा महसुस गर्छन्, उनीहरू निर्धक्क आफ्नो जन्म घरमा फर्कने र विवाह अगाडी जस्तै रहने वातावरण नहुँदा सम्म उनीहरूमाथि हिंसाको थप उग्र रूप निम्तिई रहन्छ।
छोरीलाई घरेलु हिंसाबाट जोगाउने पहिलो शर्त भनेकै पीडकबाट टाढा राख्ने हो । तर जन्मघरदेखि नै सुरु हुने बहु आयामिक विभेदले छोरीलाई हिंसा हुन् सहज बनाएको छ; न त उनीहरूको सम्पत्ति माथिको अधिकार सुनिश्चित छ, न त उनीहरूको सुरक्षित बास स्थान नै छ । छोरी घर नबसेर बाबुआमासँग बस्न आउनुको अर्थ बाबुआमा मात्रले पनि बुझिदिने र बिनाशर्त माइतमा रहिरहने अनुमति दिने हो भने प्रणाली परिवर्तन नभए पनि हत्या/आत्मा हत्याका घटना भने धेरै कम हुने थिए ।’
८ वर्षमा ९० हजार घरेलु हिंसाका उजुरी
नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट प्राप्त भएको विगत आठ वर्षको तथ्याङ्क केलाउने हो भने पछिल्ला वर्षहरूमा घरेलु हिंसाका घटनाहरू प्रहरीमा पुग्ने क्रम बढिरहेको छ ।
तथ्याङ्कले पछिल्ला पाँच आर्थिक वर्षमा प्रहरीमा पुगेका घरेलु हिंसाका घटना वार्षिक रूपमा १० हजार माथि रहेको देखाउँछ । यसले आफूमा भएको हिंसाको उजुरी गर्नेहरूको सङ्ख्या बढेको, प्रहरीमा महिला सेल भएपछि उजुरी गर्न सहज भएको र महिलाहरूमा शिक्षा र जनचेतनाको विकास वृद्धि भएको पनि देखाउँछ ।
नेपालको कानुनले घरेलु हिंसालाई दण्डनीय मानेर यस्तो हिंसा गर्नेलाई दण्ड सजायको व्यवस्था गरेसँगै प्रहरीमा उजुरी पर्ने सङ्ख्या बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ साल वैशाख १४ गतेबाट पारित भई लागू भइसकेको छ भने घरेलु हिंसा (कसुर र सजाय) नियमावली २०६७ समेत लागू भइसकेको छ । त्यसपछि हिंसाका उजुरीहरू प्रहरीमा पुग्न थालेका छन् ।
घरेलु हिंसाबाट पीडितले प्रहरी कार्यालय, स्थानीय निकाय (पालिका/वडा कार्यालय), राष्ट्रिय महिला आयोग, अदालतमा उजुरी दिन सक्छन् । तर यहाँ हामीले प्रहरीमा परेका उजुरीहरूलाई केलाउने प्रयास गरेका छौँ ।
आर्थिक वर्ष ०६९-७० सम्म दुई हजारभन्दा कम सङ्ख्यामा उजुरी पर्दै आइरहेकोमा त्यसपछिको वर्षदेखि उजुरीको ग्राफले उचाइ लिएको देखिन्छ । आव ०७०-७१ मा अघिल्लो वर्षको तुलनामा घरेलु हिंसाका घटना २८० प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ ।
अहिलेसम्मको तथ्याङ्कमा ०७५-०७६ मा सबैभन्दा बढी घरेलु हिंसाका घटनामा प्रहरीकोमा दर्ता हुन पुगेका छन् । उक्त आर्थिक वर्षमा १४ हजार सात सय ७४ वटा घटना दर्ता भएकोमा आ.व ०७६-७७ एघार हजार सात सय ३८ र अघिल्लो आव (०७७-७८) मा चौध हजार दुई सय ३२ घरेलु हिंसाका घटनाहरू प्रहरीकोमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७०-७१ देखि उकालो लाग्न थालेका घटनाहरूको सङ्ख्या ६ वर्षसम्म उकालो नै लागेता पनि त्यसपछिको एक वर्षको भने घटेको देखिन्छ ।