काठमाडौं । बागलुङ र रुन्देही जिल्लामा दुई नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार बागलुङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै,रुपन्देहीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
नेपालको कानुनले १८ वर्ष वा सो भन्दा कम उमेरका बालिकाहरूसँग सहमतिमै शारिरीक सम्वन्ध राखेतापनि उक्त सम्वन्धलाई बलात्कार ठहर गर्दै पीडितको उमेर र परिस्थिति हेरेर विभिन्न कैद सजाय र जरिवाना तोकेको छ ।