सिरहा । भारतीय नम्बर प्लेटको गाडीमा ठूलो परिमाणमा अवैध मदिरा बरामद भएको छ ।
मंगलबार बेलुका पूर्व पश्चिम राजमार्गमा प्रहरीले चेकिङ्ग गर्ने क्रममा मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरेको बीआर ०१ पीबी ०८२७ नम्बरको टाटा सुमोमा अवैध मदिरा फेला परेको हो ।
उक्त सुमोमा फ्लस सिलिङ बनाएर लुकाई छिपाइ ल्याइएको २०४ वटा रोयल स्टयाग र २८७ वटा अफिसर च्वाइस नामक मदिरा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेले बताए ।
डिएसपी पाण्डेका अनुसार बरामद सामानको अन्दाजी मूल्य रु १० लाख माथि रहेको छ । उक्त टाटासुमोमा रहेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ भने सवारीचालक फरार भएका छन् ।
पक्राउ पर्नेमा अन्दाजी २७ वर्षका बैजु पण्डित र २२ वर्षका कमलेश पण्डित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार गाडी चालकको खोजतलास गरिरहेको वरामद अवैध मदिरा, सवारी साधन र दुवै भारतीय नागरीकलाई बुधबार (हिजो) आन्तरीक राजस्व कार्यालय लहान सिरहामा बुझाईएको डिएसपी पाण्डेले बताए ।