जनकपुर । आइएमई मनि ट्रान्सफर रहेको कोठाको पर्खाल फुटाएर चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राती धनुषा जिल्लाको हंसपुर नगरपालिका-९ बालगंगा चौकमा रहेको आइएमई एक्सप्रेस रेमिटान्स रहेको कोठाको पर्खाल फुटाएर चोरी भएको थियो ।
त्यहाँ रहेको ल्याप्टप, किबोर्ड लगातका सामान चोरी भएतापनि गल्लामा नगद रकम नभएको सञ्चालक राजेश्वर मण्डलले बताए ।
प्रहरीले उक्त घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २० वर्षका जिवन ठाकुर र २१ वर्षका अजय महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।
उनीहरूले चोरी गरेका सामानहरू पशु विकासको पुरानो भवन भित्र खाल्टो खनी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको छ ।
पक्राउ परेका व्यक्तिहरूले चोरी कार्यमा प्रयोग गरेका कटर, फलामको रड, हतौरा समेत बरामद भएको डिएसपी गौतमले बताए ।
पक्राउ परेका दुवैमाथि चोरी मुद्दा शिर्षकमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।